सुशान्तलाई मीटूको आरोप लागेपछि…

मुम्बई(एजेन्सी) । दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि उनीबारे नयाँ नयाँ कुरा बाहिर आइरहेका छन् । हालै मात्र केन्द्र सरकारले सुशान्तको मामला अध्ययन गर्न सीबीआई हस्तान्तरण गरेको छ । यसैबीच सुशान्तका साथी तथा सिरियल ‘पवित्र रिश्ता’का निर्देशक कुशल जावेरीले सुशान्तसँग जोडिएका विभिन्न कुरा बाहिर ल्याइरहेका छन् । उनले सन् २०१८ मा सुशान्तमाथि ‘मीटू’को फर्जी आरोप लागेपछि उनको अवस्था कस्तो भयो भन्ने कुराको खुलासा गरेका छन् ।

‘सुशान्तलाई मीटूको आरोप लाग्दा उनले आफूलाई कमजोर अनुभव गरे । म जुलाई २०१८ देखि फेब्रुअरी २०१९ सम्म सुशान्तसँगै थिएँ । मैले उनलाई अक्टोबर २०१८ को समयमा कमजोर देखें, किनभने त्यो समयमा मीटू आन्दोलन चलिरहेको थियो । विद्युत्तीय सञ्चारमाध्यम बिना कुनै प्रमाण उनलाई दोषी ठहराइरहेका थिए । हामीले संजना सांघीसँग सम्पर्क गर्ने प्रयास गर्यौं । तर उनी त्यो समयमा अमेरिकामा थिइन् । उनी यी सबै कुरामा आफ्नो धारणा बनाउन यहाँ उपस्थित थिइनन्’, उनले भनेका छन् ।

उनका अनुसार सुशान्तलाई पनि आफूमाथि निशाना बनिरहेको बारे थाहा थियो । सुशान्तले आफूलाई निर्दोष साबित गर्न संजनाको प्रतिक्षामा चार रातसम्म सुतेका थिएनन् । पाँच दिन पछि उनी बाहिर निस्किए र आफूले मीटूको दोषी नभएको प्रमाणित गरिदिए ।