काठमाडौ । फिल्म ‘प्रेमगीत ३’ डेब्यू अभिनेता मनिष राउतले अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मासँग रोमान्स गर्ने भएका छन् । आफ्नो पहिलो फिल्म रिलीज नहुँदै मनिषले अर्को फिल्ममा काम गर्न लागेका हुन् । तीनै कलाकारसँग बिहिबार सम्झौता भएको छ ।
सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्मको निर्देशन ‘अमेरिका बोइज’ फेम्ड निर्देशक प्रवेश पौडेलले गर्नेछन् । पौडेल फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट निर्देशन विषय अध्ययन गरेका विद्यार्थी पनि हुन् । फिल्मको स्क्रिप्टमा काम भइरहेकाले नाम भने राखिएको छैन ।
‘अब एकजना पुरुष र एकजना महिला कलाकारको आवश्यकता छ । हामीले अडिसनबाट छान्ने प्रक्रियामा छौँ’, निर्देशक पौडेलले भने, ‘’कमिङ् एज’ को कथामा हामीले दुई बर्ष देखी काम गरिरहेका थियौँ, अब भने यसले मूर्तरुप लिन लागेको छ । कोरोना महामारी पश्चात सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौं’ ।
डक्टर डेनिमको प्रस्तुतीमा बन्ने यस फिल्मका निर्माता छत्रजंग पाण्डे र अनुप पौडेल हुन् । सह निर्माता करन साउद हुन् ।