डिजिटल डेब्यू गर्दै कपिल शर्मा

मुम्बई(एजेन्सी) । कोरोना कालमा मानिसलाई हसाउनका लागि कपिल शर्मा एकपटक पुनः आफ्नो पुरा टिमका साथ टेलिभिजनमा फर्किएका छन् । कपिल र उनको समूहले लोकप्रिय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ कोरोना सम्बन्धी निर्देशिकालाई पालन गर्दै सुट गरेका छन् । कपिल चाँडै नै आफ्नो डिजिटल डेब्यू गर्दैछन् ।

‘लोकप्रिय कमेडियनसँगै कपिल एक राम्रो अभिनेता पनि हुन् । उनले अब्बास मस्तानको कमेडी ड्रामा फिल्म ‘किस किस से प्यार करुँ’बाट फिल्मी डेब्यू गरेका हुन् । यो फिल्म हिट भएको थियो । यो फिल्म पछि उनी ‘फिरंगी’मा देखिएका थिए । तर फिल्म खासै चलेन’, कपिल निकट स्रोतले भन्यो’, ‘फिरंगीको असफलता पछि उनी केही समय फिल्मबाट टाढिए । तर उनी एउटा राम्रो स्क्रिप्टको खोजीमा थिए । त्यो स्क्रिप्ट एक वेब शोको हो । जुन ओटीटी प्लेटफर्म सोनी लिभबाट आउनेछ । अगष्ट अन्त्यमा मुम्बईमा सुटिङ हुने शोमा कपिल प्रमुख भूमिकामा छन् ।

यो शो पूर्ण रुपमा कमेडी शो हुनेछ । प्रारम्भिक चरणमा ६० दिनका लागि सुटिङ गरिनेछ । यो दर्शकले मनपराएमा यसको समयावधि बढ्नेछ । कोरोना सकिएपछिको सामान्य अवस्थामा कपिलले अर्को एक फिल्ममा पनि हस्ताक्षर गर्नेछन् ।