गणेशसँग नीताको प्रेम

काठमाडौं । अभिनेत्रीका रुपमा परिचित नीता ढुंगाना अब गायिकाका रुपमा पनि श्रोता तथा दर्शकमाझ आउँदैछिन् । हालै रेकर्ड गरिएको ‘श्री गणेश भजन’ नामको धार्मिक गीतमा नीताको स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोको छायांकन गरिएको छ । भिडियोमा नीता फिचर्ड छिन् ।

नीता फिल्मस्को ब्यानरमा पहिलो प्रस्तुतिको रुपमा निर्माण भएको भिडियोमा निकै महंगो खर्च गरिएको छ । भव्य सेट निर्माण गरेर छायांकन गरिएको भिडियोमा प्रस्तुत गरिएको गणेशको मुर्तिलाई नै लाखौं लगानी गरिएको बताइएको छ ।

भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन, सञ्जय लामाको छायांकन र वनिष शाहको सम्पादन छ । भिडियो नवनीता इन्टरटेनमेन्टमार्फत छिट्टै नै रिलिज गरिनेछ । ‘हिन्दु धर्म र भक्तिभावमा मेरो बच्चादेखिको सोख हो, गणेश भगवानको अनुयायी भएको कारण पनि गायन यात्रा यहीबाट सुरु गरें ।’ उनले भनिन् ।

उनले नेपाली संस्कार अनुसार प्रायः काम सुरुगर्दा गणेशको पूजा गरिँदै आएको स्मरण गर्दै सोहि अनुसार आफुले पनि गणेश भगवानको नामबाट नै नयाँ यात्रा सुरु गरेको बताइन् ।