अमिताभले सम्झिए काठमाडौं

काठमाडौं । बलिउड बीग बी अमिताभ बच्चनले नेपालको संघीय राजधानी काठमाडौंको स्मरण गरेका छन् । सामाजिक सन्जाल ट्वीटरमा मोसेस सापिरले अमिताभले एक स्वीमिङ पुलमा हातमा जुस लिएर बसिरहेको तस्बिर राख्दै फिल्मको नाम अनुमान लगाउन आग्रह गरेका छन् । उनले त्यो तस्बिरमा अमिताभलाई ट्याग पनि गरेका छन् ।

अमिताभले त्यसको जवाफ दिँदै ‘म तपाईंलाई भन्नेछु… महान सुटिङ, काठमाडौं, नेपाल’ भनी लेखेका छन् । सन् १९८३ मा बनेको यो फिल्म सत्यनारायण र सूर्यनारायणले निर्माण गरेका हुन् । फिल्ममा एस रामनाथनको निर्देशन थियो ।

फिल्ममा अमिताभले पहिलोपटक तेहोरो भूमिकामा अभिनय गरेका थिए । फिल्ममा वाहिदा रहिम, परविन बाबी, जिनत अमान, अशोक कुमार, अमजद खान, अरुणा इरानी, सुजित कुमार र शक्ति कपुरको अभिनय थियो । फिल्मको ‘प्यार मे दिल पे मार दे गोली’ उसबेलाको चर्चित गीत थियो ।