पहिलो कार खोज्दै सचिन तेन्दुलकर

मुम्बई(एजेन्सी) । पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो फ्यानलाई उनको पहिलो कार खोज्ने अभियानमा सहयोग गर्न आव्हान गरेका छन् । कारका सौखिन सचिनले आफ्नो कार मारुती ८ सय रहेको र यो कार ९० को दशकमा भारतमा लोकप्रिय रहेको बताएका छन्

सचिनले आफ्नो कारको बारेमा धेरै जानकारी त दिएका छेनन्, तर उनले फ्यानलाई कारको बारेमा जानकारी भयो भने खबर गर्न आग्रह गरेका छन् । एक वेब च्याट शोमा सचिनले आफू व्यावसायिक क्रिकेटर बनेपछि यो कार किनेको बताएका छन् । तेन्दुलकरले सन् २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर आज पनि उनी भारतको सबैभन्दा लोकप्रिय हस्तीमा पर्दछन् ।

यो कार किन्ने सचिन एक्ला थिएनन् । एक समय मारुती ८ सय लाई प्रतिष्ठित कार मानिन्थ्यो । त्यो समयमा पुरा पुस्ताका लागि यो कार एउटा सान नै थियो । यो कारलाई कम्पनीले सन् २०१४ मा उत्पादन बन्द गर्ने निर्णय लिएपछि धेरैले दुःख व्यक्त गरेका छन् । त्यो समयमा धेरैले यो कारसँग जोडिएको सम्झना साझा गरेका थिए । सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता पाउँदै गएपछि नयाँ कार किनेकाले पुरानो कार बेच्नुपरेको बताए । ‘मेरो घरको छेउमा एउटा ठूलो फिल्म हल थियो । जहाँ मानिसहरु कारमा चढेर फिल्म हेर्न आउँथे । त्यहाँ म भाइसँग बालकोनीबाट घण्टौंसम्म ती कार हेर्दथें ।’ उनले भनेका छन् ।

तेन्दुलकरको नाम टेस्ट र वनडेमा सबैभन्दा बढी रन बनाउनेमा रेकर्ड छ । उनले २ सय टेस्ट म्याचमा १५ हजार ८ सय ३७ र ४ सय ६३ वनडेमा १८ हजार ४ सय २६ रन बनाएका छन् । दुईपटक भारतीय क्रिकेट टिमको कप्तान भइसकेका सचिन सन् १९८९ मा १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेका थिए । सन् २०१२ मा उनी सय अन्तर्राष्ट्रिय सतक बनाउने विश्वकै पहिलो क्रिकेटर बनेका थिए ।