प्रेममा थिए सुशान्त र सारा ?

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानले अभिनेता सुशान्त सिंह राजपुतको फिल्म ‘केदारनाथ’ बाट अभिनयमा ‘डेब्यू’ गरेकी थिइन् । दुवै कलाकारले आफ्नो मनमोहक क्यामेष्ट्री र अभिनयले दर्शकको मन जितेका थिए । फ्यानमाझ यो फ्रेस जोडी अनस्क्रिनमा निकै रुचाइयो ।

हालैमात्र सुशान्तका साथी सेमुअल हाओकिपले सारा र सुशान्त अफ स्क्रिनमा पनि प्रेम जोडी थिए भन्ने दाबी गरेका छन् । त्यो समयमा उनीहरुबीच प्रेम सम्बन्ध पनि थियो भन्ने हल्ला बाहिर आए पनि दुवैले पुष्टि गर्न सकेका थिएनन् । उनले फिल्म ‘सोन चिरौया’ फ्लप भएपछि साराले सुशान्तसँग ब्रेकअप गरेको आरोप लगाएका छन् ।

‘मलाई केदारनाथको प्रमोसनको समय सम्झना भइरहेको छ । सुशान्त र सारा पूर्ण रुपमा प्रेममा थिए । दुबैबीच एकअर्कालाई ठूलो सम्मान थियो । आजकलको सम्बन्धमा यस्तो कमै मात्र हुन्छ’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सुशान्तसँगै सारा पनि सुशान्तको परिवारलाई सम्मान गर्थिन् । चाहे त्यो परिवार, साथीभाई वा कर्मचारी होस् । मलाई आश्चर्य लागेको छ कि बलिउड माफियाको दबाब र सोन चिरैयाको बक्स अफिस असफलता पछि साराले सुशान्तलाई छोडिन् ।’

सुशान्तको असामयिक निधन पछि साराले इन्स्टाग्राममा अभिनेतालाई सम्झँदै फिल्म ‘केदारनाथ’को सेटको शेयर गरेकी थिइन् ।