कौन बनेगा करोडपतिको छायांकन शुरु

मुम्बई(एजेन्सी) । हालै मात्र कोरोना संक्रमणलाई पराजित गरेर फर्किएका अभिनेता अमिताभ बच्चनले नियमित काम शुरु गरेका छन् । उनले आफू सञ्चालक रहेको चर्चित शो ‘कौन बनेगा करोडपति’को १२ औं संस्करणको छायांकन शुरु गरेका छन् । उनले सामाजिक सन्जालमा सुटिङको तस्बिरहरु शेयर गरेका छन् ।

तस्बिरमा शोका प्राविधिकहरुलाई क्यामराको पछाडि पीपीई पहिरनमा काम गर्दै गरेको देखाइएको छ । सन् २००० बाट शुरु भएको यो शोका सञ्चालक अमिताभले २० वर्षलाई सानदार वर्ष भनेका छन् ।

अमिताभले इन्स्टाग्राममा ‘काममा फर्किदैछु । निलो पीपीई किटको सुमन्द्रको बीचमा…केबीसी १२…२००० देखि शुरु भएको थियो…आज वर्ष २०२० मा २० वर्ष पुुरा भयो’ भन्दै लेखेका छन् ।

गत जुलाईमा अमिताभ, उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या राय र नातिनी आराध्यालाई कोरोना पोजेटिभ भएको थियो । अस्पतालमा लामो समयसम्मको उपछार पछि उनी कोरोनामुक्त भएका थिए । परिवारका अन्य सदस्य पनि कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।