तमन्नाका बाबुआमालाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियाका आमाबाबुलाई कोरोना संक्रमण भएको छ । तमन्नाले ट्विटरमार्फत आफू, परिवार तथा स्टाफको रिपोर्ट भने नेगेटिभ आएको उल्लेख गरेकी छन् ।

‘पछिल्लो केही हप्तादेखि मेरा आमाबाबुलाई कोभिड–१९ को हल्का लक्षण देखिएको थियो । हामी घरका सबैले टेस्ट गर्यौ । अहिले नतिजा आएको छ र दुर्भाग्यवस मेरो आमाबाबुको टेस्ट पोजिटिभ आएको छ । बाँकी सबैको नेगेटिभ आएको छ । भगवानको दयाले उहाँहरु ठिक हुनेमा आशावादी छु । तपाईंहरु सबैको प्रार्थनाले उहाँहरु चाँडै निको हुनुहुनेछ’, तमन्नाले इन्स्टाग्राममा लेखेकी छन् ।

तमन्नाको यो जानकारी पछि उनका साथी कलाकार तथा फ्यानले स्वास्थ्य लाभको कामना गरेका छन् । अभिनेत्री काजल अग्रवालले ‘अंकल आन्टीका लागि प्रार्थना गरिरहेकी छु । उहाँहरु चाँडै ठिक हुनुहुनेछ । टेमी तिमी पनि आफ्नो ख्याल गर्नु’ भन्दै प्रतिक्रिया दिएकी छन् ।