स्कुल र कलेजमा नेपाली फिल्म शिक्षा

काठमाडौं । पाँच दशक भन्दा लामो इतिहास बोकेको नेपाली फिल्मको विषयमा अब स्कुल र कलेजमा पनि पढाई हुने भएको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेपछि स्कुल र कलेजमा फिल्म शिक्षाको पहल हुन लागेको हो ।

समितिले कोरोना प्रभाव हट्ने बित्तिकै आगामी वर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु गर्नेछ । बोर्डका अनुसार आगामी वर्षदेखि विद्यालय स्तरबाटै फिल्मबारे पढाई शुरु हुनेछ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवराज दाहालले शुरुमा विद्यालयस्तर र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको बताए । ‘त्यसपछि सबै विद्यालय र कलेजहरुमा फिल्मको विषय पनि पढ्न सकिनेछ । यसले भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित रहन्छ’, उनले भने ।

बोर्ड अध्यक्ष दयाराम दाहालले स्कुल तहदेखि नै फिल्मको इतिहास, साहित्यीक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए । ‘ढिलोचाँडो यसको शुरुवात हुँदैछ । यो चलचित्र विकास बोर्डको लागिमात्र हैन, आम नेपालीहरुको लागि सुखद पक्ष हो । फिल्मबाटै नेपालीकला, संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनको लागि यो राम्रो कुरा हो’, उनले भने ।