काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको शब्द रहेको गीत ‘यो बुद्ध भूमि’को भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको गीतको भिडियोमा राष्ट्रभक्ति गीतलाई प्रस्तुत गरिएको छ ।
सार्वजनिक गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
गौतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङलगायतको स्वर रहेको छ । दीर्घ गुरुङको छायांकन रहेको गीतमा जीवन थापाको सम्पादन छ ।
गीतकार गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरी गितीसंग्रह पनि प्रकाशनमा ल्याइएको छ । जसमा सार्वजनिक भएका गीतहरु र हुन बाँकी सबै समावेश गरिएको छ ।