बिग बोसमा सलमानलाई २ सय ५० करोड पारिश्रमिक

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनको लोकप्रिय रियालिटी शो ‘बिग बोस’को १३ औं संस्करण यसअघिका सबै संस्करणभन्दा बढी चर्चामा रह्यो । यो संस्करणले टीआरपी चार्टमा आफ्नो सफलताको नयाँ इतिहास नै रचिदियो । यहीकारण ‘बिग बोस १४’ले जबरदस्त लोकप्रियता पाइरहेको छ । शोको नयाँ संस्करण शुरु भइसकेको छ भने विगतको जस्तै शोको सञ्चालन सलमान खानले गर्नेछन् ।

शोको लागि सलमानले केही प्रोमोको पनि छायांकन गरेका छन् । शोका लागि सलमानले अहिलेसम्मकै मोटो रकम पारिश्रमिक बापत लिएका छन् । ‘सलमान बिग बोस १४ सँगै सानो पर्दामा सर्वाधिक पारिश्रमिक लिने अभिनेता बनेका छन् । यो शो होस्ट गर्नका लागि सलमानलाई कुल २ सय ५० करोड पारिश्रमिक दिइँदैछ । शोको दुई भागको लागि सलमान हप्तामा एकपटक मात्र सुटिङ गर्नेछन् । १२ हप्ताका लागि सलमानलाई प्रति भाग १० दशमलब २५ करोड पारिश्रमिक दिइनेछ । जस अनुसार दुई भागको पारिश्रमिक २० दशमलब ५० करोड हुनेछ । विगतका वर्षझैं यसपटक पनि सलमान र शोको निर्माताबीच ब्ल्यांकेट डिल भएको छ । जसकारण सलमानले टेलिभिजन च्यानलका केही अवार्ड शोमा पनि आवश्यकता अनुसार उपस्थित हुनुपर्नेछ’, शो निकट स्रोतले भन्यो ।

यो शो सेप्टेम्बरबाट शुरु हुनु पर्ने भए पनि अहिललाई केही ढिलाई हुने भएको छ । मुम्बईको फिल्म सिटीमा बिग बोसको घरमा बनाउने क्रम जारी छ । तर निरन्तर वर्षातले काममा अवरोध पुर्याइरहेको छ । अक्टोबरको मध्यसम्ममा शो शुरु हुने अनुमान लगाइएको छ ।