इजरायल र युएईबीच व्यावसायिक उडानको तयारी

रियाद(एजेन्सी) । इजरायल र संयुक्त अरब इमिरेट्सबीच पहिलो व्यावसायिक उडान शुरु हुने भएको छ । दुई देशबीच राजनीतिक सम्बन्ध शुरु भएको घोषणा हुनासाथ यसलाई महत्वपूर्ण कदम मानिएको छ ।

इजरायलको एल एआईबाट इजरायल र अमेरिकाका अधिकारी तीन घण्टाको यात्रा गर्दै युएई पुग्नेछन् । यो विमानलाई साउदी अरबको हवाई क्षेत्रमा जाने अनुमति दिइएको छ । आम रुपमा यो हवाई क्षेत्रमा इजरायली विमान उड्ने गरेको थिएन । फ्लाइट नम्बर एलवाई ९७१ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाई तथा उनका वरिष्ठ सल्लाहकार जारेड कुशनरसँगै इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार मीर बेन शब्बात पनि छन् ।

सन् १९४८ मा इजरायल स्थापना भएपछि युएई तेस्रो अरब मुलुक हो, जसले इजरायललाई मान्यता दिएको छ । गत शनिबार संयुक्त अरब इमिरेटसले इजरायललाई बहिस्कार गर्ने कानून खारेज गरेको थियो । जुन कानून सन् १९७२ देखि लागु थियो । यसै महिना दुई देशबीच सिधा टेलिफोन सेवाको पनि शुरुवात भएको छ ।

गत अगष्ट १३ मा अमेरिकाको मध्यस्थतामा दुवै देशमा भएको सम्झौताको घोषणा गरिएको थियो । समाचार अनुसार राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार जारेड कुशनर गोप्य वार्ता गरेका थिए । जसकारण इजरायल र युएईबीच सम्झौता भयो । यूएईमा जाने संयुक्त समूहले त्यहाँको सरकारी प्रतिनिधिहरुसँग भेट्नेछन् र दुई देशबीचको सहयोगको क्षेत्रका विषयमा चर्चा हुनेछ । इजरायल र युएईको सम्झौता प्रति कैयौं देशले सराहना गरेका छन् र यो कदमको स्वागत पनि गरेका छन् ।