शरमनलाई बाथरुममा थ्री इडियट्सको अफर

मुम्बई(एजेन्सी) । मान्छेको भाग्य कहिले चम्किन्छ र राम्रो फिल्म हातमा पर्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । अभिनेता शरमन जोशीको करियरको सबैभन्दा ठूलो फिल्म ‘थ्री इडियट्स’लाई नै हेरौं । शरमनलाई बाथरुममा यो फिल्मको अफर आएको थियो । एक लाइभ च्याट शोको समयमा राजकुमार हिरानीसँग एक थिएटरमा भेट भएपछि फिल्मको कुरा निस्किएको बताए ।

‘मेरो एक बैठक थियो । बैठकका लागि समय थियो । म फिल्म हेर्न थिएटर गएँ । त्यहाँ राजकुमार हिरानी सर केही व्यक्तिसँग कुराकानी गरिरहनु भएको थियो । उनीहरु आफ्नो आफ्नो फिल्मको ट्रेलर ठूलो स्क्रिनमा हेर्न आएका थिए । मैले उनीहरुलाई डिस्टर्ब गर्न सही होइन भन्ने सम्झिएँ । टिकट काउन्टरमा गएँ, त्यहाँ टिकट मिलेन । म फर्किन लागें । त्यही बेला राजकुमार सरले मेरो नाम लिएर बोलाउनुभयो । मलाई खुशी लाग्यो कि उहाँलाई मेरो नाम थाहा रहेछ । उहाँले मलाई तिम्रो काम मनपर्यो । एक फिल्मका लागि तिमीसँग कुरा गर्नेछु भन्नुभयो’, शरमनले भनेका छन् ।

शरमनका अनुसार झन्डै पाँच महिना पछि उनीहरुको भेट एक अडिटोरियमको बाथरुममा भएको थियो । ‘उहाँले एक फिल्म छ, जसका लागि मलाई सोचिरहेको बताउनुभयो । त्यसपछि तीन महिना जति सम्पर्क भएन । अनौठो कुरा के छ भने त्यसपछि हाम्रो भेट फेरी त्यही बाथरुममा भयो । त्यो दिन उहाँले मलाई आफ्नो अफिसमा आउन भन्नुभयो । मैले अडिसन दिएँ र यो फिल्म मैले पाएँ,’ हालै मात्र वेबसिरिज ‘बारिश २’मा देखिएका शरमनले भने ।

फिल्म ‘थ्री इडियट्स’मा शरमनले राजु रस्तोगीको भूमिका निर्वाह गरेका थिए । दर्शकले आमिर खानसँगै शरमनको भूमिकालाई निकै मनपराए । शरमन चाँडै ‘द ग्राहम स्टेन्स स्टोरी’मा पत्रकारको भूमिकामा देखिँदैछन् ।