सुशान्त र मर्लिन मृत्युमा यस्तो समानता

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपूतको निधनको करिब ८० दिन पुगिसकेको छ । पहिला मुम्बई प्रहरी, त्यसपछि बिहार प्रहरी र अहिले सीबीआईले यो घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्म न कोही व्यक्ति पक्राउ परेका छन्, नत कुनै ठोस परिणाम नै निस्किएको छ । सुशान्तको मृत्यु अमेरिकी अभिनेत्री मर्लिन मुनरोको मृत्युलाई स्मरण गराउँछ । यी दुईको मृत्युमा कैयौं समानता छ ।

गत जून १४ मा सुशान्तको शव उनको फ्ल्याटमा भेटिएको थियो । केही दिनसम्म मुम्बई प्रहरीले त्यसलाई आत्महत्या बताएको थियो । तर मानिसहरु यो कुरामा विश्वास गर्न सकेका थिएनन् । यसपछि परिवारले यो मामलामा सुशान्तकी प्रेमिकालाई दोषी मान्दै उनीविरुद्ध एफआईआर दर्ता गराए । अहिले भने सुशान्तले लागु औषध सेवन गरेर आत्महत्या गरेको बताइँदै आइएको छ ।

हलिउडकी सदाबहार अभिनेत्री मर्लिन मुनरोको मृत्यु पनि एक रहस्य नै बनेको छ । अगष्ट १९६२ मा मर्लिनको शव उनको घरमा भेटिएको थियो । केही मानिसहरुले उनको मृत्यु औषधिको ओभरडोज सेवनले भन्छन् भने केहीले आत्महत्या मानेका छन् । प्रहरीले जब पहिलोपटक उनको शव देख्यो, त्यो बेला प्रहरीले मर्लिनको हत्या भएको अनुमान लगाएको थियो । कैयौं वर्षसम्म उनको मृत्युको विषयमा अनुसन्धान भयो, तर आजसम्म उनको मृत्युको रहस्या पत्ता लाग्न सकेको छैन ।

मर्लिनको नाम अमेरिकी राष्ट्रपति जोन केनेडीदेखि लिएर गायक फ्रेंक सिनात्रा र बेसबल खेलाडी जो डिमेगियोसम्म जोडिएको थियो । उनले जिन्दगीको उचाई र असफलता पनि देखिन् ।