नगेनको चित्रमा भदौ १६

पोखरा । विश्वभर कोराना संक्रमणको त्रासदी रहेको र नेपालमा देशव्यापी लकडाउन भईरहेको समयमा कलाकार नगेन सिहंले भदौ १६ को स्मरण गर्दै भित्तेचित्र बनाएका छन् । २०६१ साल भदौ १६ मा इराकमा वैदेशिक रोजगारीमा गएका १२ नेपालीको अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले हत्या गरेको दिनलाई स्मरण गर्दै उनले यो चित्र बनाएका हुन् । गत जेठ ३० गतेबाट शुरु गरेका ‘३६५ दिन एक वर्षे च्यालेन्ज’ अर्थात एक दिन एक कलाकृति सोसल मिडियामा पोष्ट गर्नेमा ८३औ कृतिको रुपमा ‘भदौ १६’ राखेका हुन् ।

आर्ट ग्यालरीको हलमा सजाएको एक चित्रले अर्को चित्र देखेर त्रासदी भै चित्कार गरिरहेको दृश्य यो चित्रकलामा देख्न सकिन्छ । कलाकार सिंहले तेल र एक्रेलिक रंगको माध्यमले क्यानभास बनाएका हुन् ।

इराकमा घटना घटेपछि काठमाडौंमा आन्दोलन चर्किएको थियो । त्यसक्रममा मेनपावर तोडफोडसँगै मिडियामा पनि आक्रमण भएको थियो । परिस्थितिलाई नियन्त्रणमा लिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चार दिन कफ्र्यू लगाएको थियो ।