कोरोना कहरमा अमिताभको कार रहर

मुम्बई(एजेन्सी) । बलिउडका महानायक अमिताभ बच्चनले टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ को सुटिङ शुरु गरिसकेका छन् । यो शोमार्फत अमिताभ आम मानिसको अधुरो सपनालाई पुरा गर्छन् । यो टेलिभिजन शो प्रसारण हुनु अघि नै अमिताभले आफ्ना लागि पनि एउटा पुरस्कार दिएका छन् । केही समय अघि मात्र अमिताभले नयाँ कार किनेका छन् । उनले एस क्लास मर्सिडीज बेन्ज कारलाई आफ्नो बनाएका हुन् । यो कारको मूल्य १ करोड ३८ लाख रुपैंयाँ पर्दछ । बुधबार भारतमा सार्वजनिक यो कार उनले बुधबार नै किनेका हुन् ।

त्यसो त अमिताभको घरमा यसभन्दा अघि नै एकसे एक कार छन् । यो सूचीमा रोल्स रोयज, मर्सिडीज बेन्ज एस–क्लास एस५००, ओडी एडी, बेन्टले कन्टिनेन्टल जीटी जस्ता महंगा कार छन् । अमिताभले आफूले किनेको नयाँ कार छोरा अभिषेकका लागि किनेको बताएका छन् ।

तर अमिताभको निर्णय प्रति उनका फ्यानहरु भड्किएका छन् । कोरोना कालमा यस्तो महंगो कार किन्नु भन्दा कोरोना पीडितको उपचारमा खर्च गर्नुपर्ने उनीहरुको तर्क छ । यही बीचमा अमिताभ सामाजिक सन्जालमा ट्रोलको शिकार भएका छन् । एक तस्बिरमा अमिताभले आफ्नो नयाँ कारको चाबी लिइरहेका छन् । अमिताभको त्यो क्रियाकलापलाई उनीहरुले देखावटी भनेका छन् ।

अमिताभ केही समय अघि मात्र कोरोनालाई पराजित गरेर घर फर्किएका छन् । अमिताभका अलावा अभिषेक बच्चन, आराध्या र ऐश्वर्या राय बच्चनलाई पनि कोरोना संक्रमण भएको थियो । केही दिनको अस्पताल बसाई पछि घर फर्किएका अमिताभले काम शुरु गरिसकेका छन् ।