तारक मेहताका नट्टु काका अस्पताल भर्ना

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन जगतको सर्वाधिक लोकप्रिय कार्यक्रममध्येको एक ‘तारक मेहताका उल्टा चश्मा’का नट्टु काका अर्थात् घनश्याम नायक अस्पताल भर्ना भएका छन् । घाँटीमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् । अस्पतालले उनको स्वास्थ्य अवस्था खराब भएको जनाएको छ ।

घनश्यामको आइतबार घाँटीको सर्जरी गरिएको छ । सर्जरी पछि उनले केही समय आराम गर्नुपर्नेछ । लकडाउनका कारण सुटिङ रोकिएपछि घनश्याम सुटिङ सुरु होस् भन्ने चाहिरहेका थिए । सरकारले ६० वर्ष भन्दा माथि उमेर समूहका कलाकारले पनि सुटिङमा सहभागी हुन पाउने बताएपछि उनी खुशी भएका थिए ।

उनी बिरामी भएको समाचार सार्वजनिक भएपछि सामाजिक सन्जालमा उनको स्वास्थ्यलाभको कामना गर्न थालिएको छ । केहीले भने जेठालालले घनश्यामको पारिश्रमिक बढाउनुपर्ने भन्दै ठट्टा गरिरहेका छन् । यी अभिनेताले लामो समयदेखि शोमा पारिश्रमिक नबढेकोमा गुनासो गर्दै आइरहेका थिए ।

उनले बिरामी भइरहँदा आफ्नो अन्तिम इच्छाका रुपमा शोमा जोडिइरहने बताएका छन् । ‘म सबै आवश्यक सावधानी पालना गर्नेछु र म काम गर्नका लागि तयार छु । म आफ्नो अन्तिम साससम्म रहुन्जेलसम्म काम गर्न चाहन्छु । मेरो अन्तिम इच्छा नै मेकअप लगाएर मर्नु हो’, उनले भनेका छन् ।