बालिका बधुकी दादीलाई ब्रेन स्ट्रोक

मुम्बई(एजेन्सी) । भारतीय टेलिसिरियल ‘बालिका बधु’ मा दादीको भूमिकामा अभिनय गर्ने अभिनेत्री सुरेख सिकरीको स्वास्थ्यमा समस्या आएको छ । जसकारण उनलाई आइसीयूमा भर्ना गरिएको छ । उनलाई ब्रेन स्ट्रोक भएको छ । हाल उनलाई मुम्बई क्रिटी केयर अस्पतालमा भर्ना गरिएको छ ।

सुरेखालाई दोस्रोपटक ब्रेन स्ट्रोक भएको हा । यसअघि सन् २०१८ मा उनको फिल्म ‘बधाई’ रिलिज भएपछि ब्रेन स्ट्रोक भएको थियो । त्यो समयमा उनको केही समय उपचार भएको थियो । विस्तारै विस्तारै स्वास्थ्यमा सुधार हुँदै गएपछि उनको एक नर्सले नियमित रेखदेख गर्दै आएकी छन् ।

‘सुरेखा बिहान जुस पिइरहेकी थिइन् । त्यही समयमा उनलाई ब्रेन स्ट्रोक भएको थियो । त्यसपछि उनलाई तुरुन्तै क्रिटी केयर अस्पतालमा भर्ना गरियो । उनको आइसीयूमा उपचार भइरहेको छ’, एक नर्सले भनिन् । उनले सुरेखा आर्थिक अवस्थाले कमजोर रहेकाले बलिउडसँग सहयोग मागिरहेको बताइन् । तर उनको मेनेजर विवेकले सुरेखालाई आर्थिक अभाव नभएको दाबी गरेका छन् ।

सुरेखाले ‘बालिका वधू’, ‘सात फेरे’, ‘बनेगा अपनी बात’ जस्ता कैयौं टेलिसिरियलमा अभिनय गरिसकेकी छन् । उनी हालै मात्र नेटफ्लिक्समा प्रदर्शन भएको फिल्म ‘घोस्ट स्टोरीजÞ’मा देखिएकी थिइन् । उनले ‘तमस’, ‘बधाई हो’, ‘मम्मो’, ‘नजर’, ‘सलीम लंगड़े पे मत रो’, ‘जुबैदा’, ‘कली सलवार’, ‘रेनकोट’, ‘हमको दीवाना कर गए’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । उनले तीनपटक बेस्ट सपोर्टिङ एक्ट्रेसका लागि नेशनल अवार्ड पनि जितेकी छन् ।