नवाज शरीफ भगौडा घोषित

इस्लामाबाद(एजेन्सी) । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई पाकिस्तानको विशेष अदालतले भगौडा घोषित गरेको छ । ट्रेजरी हाउस मामलाको सुनुवाईमा नवाज लगातार अनुपस्थित रहेपछि कोर्टले यो फैसला सुनाएको हो । यसबाहेक नवाजको परिवारका अन्य प्रमुख सदस्यमाथि पनि कानूनी कारवाही शुरु गरेको छ ।

पूर्व प्रधानमन्त्री शरीफ स्वास्थ्यका कारण गत वर्षको नोभेम्बरदेखि लण्डनमा बस्दै आएका छन् । अदालतले उनलाई कैयौं पटक उपस्थित हुनका लागि भनेको थियो, तर उनले हरेक पटक कुनै न कुनै बहाना बनाएर पाकिस्तान आउन अस्वीकार गरिरहेका छन् । ७० वर्षीया शरीफ तीनपटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् । उनले लाहोरको अदालतलाई कोरोना भाइरसको महामारीका कारण डाक्टरको सल्लाह अनुसार आफू देश फर्कन नसक्ने बताएका छन् ।

शरीफलाई गत वर्षको नोभेम्बरमा जमानत दिइएको थियो । अब उनको डाक्टरले पूर्व प्रधानमन्त्री जटिल मल्टीवेसल कोरोनरी आर्टरीको बिरामीबाट पीडित रहेको र उनको तुरुन्तै सर्जरी गर्नुपर्ने बताएका छन् । शरीफ पाकिस्तानबाट बाहिर गए पनि उनको परिवारको प्रमुख सदस्य इमरान खान सरकारको निशानामा परेका छन् ।