८६ वर्षीया वृद्धा बलात्कृत !

नयाँदिल्ली(एजेन्सी) । भारतमा वर्षेनी हजारौंको संख्यामा महिलाहरु बलात्कार भएको घटना सार्वजनिक भइरहन्छन् । तर केही घटना भने सोच्नै नसकिने किसिमका हुन्छन् । यस्तै एउटा स्तब्ध पार्ने घटना भारतको राजधानी नयाँदिल्लीमा भएको छ । नयाँदिल्लीको प्रहरीले एक ८६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा ३० वर्षका एक युवालाई पक्राउ गरेको छ ।

दिल्ली कमिसन फर वुमनकी प्रमुख स्वाती मालिवलले ती महिला साँझको समयमा गत सोमबार घर बाहिर दुधवालालाई पर्खिरहेको अवस्थामा बलात्कृत भएको बताइन् । ‘ती दुधवालाले नियमित दुध ल्याउने आउन नसकेको कारण आफूले दुध ल्याएको बताएछन् । त्यसपछि त्यो युवकले महिलालाई नजिकैको फाराममा लगेर बलात्कार गर्यो । उनले आफू हजुरआमा सरहको महिला भएको भन्दा पनि उसले छोडेन’, मालिवलले भनेकी छन्, ‘वृद्धाको चिच्याहट सुनेपछि गाउलेहरुले वृद्धाको उद्धार गरेको रहेछ । त्यो युवालाई उनीहरुले पक्राउ गरेर प्रहरीलाई बुझाए ।’

मालिवल गत मंगलबार वृद्धालाई भेट्न उनको घर पुगेकी थिइन् । ‘वृद्धालाई देख्दा मुटु छिया छिया भयो । उनले आफ्नो यौनांगबाट रगत बगेको कुरा सुनाउदा विक्षिप्त भएँ’, उनले भनेकी छन्, ‘त्यो पीडकलाई मृत्युदण्ड दिनुपर्छ । मैले दिल्ली उच्च अदालतका प्रमुख न्यायधिस र सहरका गभर्नरलाई फास्ट ट्रयाकको माध्यमबाट ६ महिना भित्र युवकलाई मृत्युदण्ड दिनुपर्छ भनेर पत्र लेख्दैछु ।

सन् २०१२ को डिसेम्बरमा २३ वर्षीया फिजियोथेरापीको विद्यार्थीलाई दिल्लीमा एक बसमा बलात्कार गरेपछि भारतमा बलात्कार र यौन हिंसाको घटना बढिरहेको छ । उनको उपचाररत अवस्थामा निधन भएपछि घटनामा संलग्न चार युवालाई मार्चमा मृत्युदण्ड दिइएको थियो ।