नयाँ भर्सनमा राष्ट्रकविको उनको प्रिती

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०२४ सालमा रचना गरेको गीत ‘उनको प्रिती’को पुनः रेकर्डिङ गरी भिडियो निर्माण गरिएको छ । २०६० सालमा नारायण रायमाझीले संगीत गरेर पहिलो पटक रेकर्ड गरिएको उक्त गितलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उनकै सम्झनामा केहि फरक शैलीमा बजारमा ल्याएका हुन् ।

लमजुङको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको गत भदौ २ गते १ सय १ वर्षको उमेरमा निधन भएको थियो । पहिलो पटक २०६० सालमा जगदिश समाल र सपनाश्रीले गाएको यो गीतमा अहिले भने नेपाल आइडलबाट उदाएका नवगायक प्रविन वेडवाल र रचना रिमालको स्वर छ ।

रिमा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितको छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका छन् भने संगीत संयोजन र मिक्सिङ बीबी अनुरागी र श्याम श्वेत रसाईलीले गरेका छन् ।

गीतमा वाद्यवादनतर्फ उदिराम खड्का, बिर्मा खड्का, बिन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन् ।