‘आदित्यले मलाई डिजिटल युगमा ल्याए’

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या मुद्धापछि सामाजिक सन्जालमा नेपोटिज्म अर्थात् नातावादको विषयमा बहस चलिरहेको छ । आम मानिसमात्र होइन, फिल्म उद्योगसँग जोडिएका मानिसहरु पनि यसमा सहभागी छन् । कैयौं स्टार सन्तानले यस विषयमा आफ्नो राय राखिसकेका छन् भने कतिपयलाई नातावादको आरोप नै लागेको छ । यहीबीचमा प्रख्यात गायक उदित नारायण झाले पनि नातावादको बारेमा आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनका छोरा आदित्य पनि बलिउडमा सक्रिय छन् ।

उदितले आफ्ना छोरालाई धन्यवाद दिँदै नातावादको बारेमा बोलेका छन् । उदितले आफूलाई छोराले संगीतको डिजिटल युगमा ल्याएको भनेका छन् । बलिउडको पाश्र्व गायनमा करिब ४० वर्षदेखि आफ्नो विशेष स्थान बनाएका उदितको नयाँ गीत ‘तेरे बगैर’ हालै युट्युबमा सार्वजनिक भएको थियो ।

‘मैले यो डिजिटल युगमा आफ्नो छोरा आदित्यसँग एक स्वतन्त्र कलाकार बन्न चाहेको इच्छा व्यक्त गरेको थिएँ । यसभन्दा अघि नै मलाई छोराले सबै सेट भइसकेको जानकारी दिएको थिए । म त बस उसको घर गएर स्टुडियो सेटपमा तेरे बगैर रेकर्ड गराउनुथियो’, उदितले भनेका छन्, ‘म गर्वका साथ भन्न सक्छु कि जुन रुपमा र जुन युगमा मानिसहरु नेपोटिज्मको कुरा गरिरहेका छन्, मेरो छोराले मलाई डिजिटल युगमा लन्च गरेको छ र मलाई विश्वास गर्नुहोस् कि यो छोराकै मेहनतको कमाईको फल हो ।’

यो गीतमा श्रेयस पुराणिकले संगीत दिएका छन् भने शब्द प्रशान्त इंगोलेको छ । भिडियोमा आदित्य नै फिचर्ड छन् ।