सलमानलाई अदालतमा उपस्थित हुन आदेश

मुम्बई(एजेन्सी) । कालो हिरण शिकार र हतियार ऐन मामलामा अभिनेता सलमान खानलाई जोधपुरको जिल्ला एवं विशेष अदालतले सेप्टेम्बर २२ मा उपस्थितिका लागि आदेश दिएको छ । सोमबार सलमानको याचिकामा अदालतबाट सुनुवाई हुन सकेको थिएन । यसपछि अदालतले सलमानलाई आगामी सुनुवाई मितिमा हाजिरी हुन आदेश दिएको हो ।

जोधपुर जिल्ला एवं सेशन जिल्ला जोधपुर न्यायधिश राघवेन्द्र कच्छवाहको अदालतमा सुनुवाई लम्बिएको थियो । सलमानको तर्फबाट उनका अधिवक्ता हस्तीमल सारस्वत अदालतमा उपस्थित थिए । राजस्थान सरकारको तर्फबाट पीपी मगाराम अदालतमा उपस्थित थिए । अदालतले सेप्टेम्बर २८ बाट बहस शुरु गर्नुपर्ने भएकाले सलमानलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

सलमानले यसअघि अदालतमा उपस्थितिको माफीको अपिल गरेका थिए । जसलाई अदालतले स्वीकार गरेको थियो । कोरोना भाइरसको महामारीका कारण सलमान अदालतमा उपस्थित हुन्छन् या हुन्नन् भन्ने आशंका शुरु हुन थालेको छ । तर हालसम्मको अदालतको रेकर्ड हेर्ने हो भने उनी नियमित रुपमा अदालतमा उपस्थित भइरहेका छन् । तर केही समयदेखि उनी हाजिरी माफी मागिरहेका छन्, जसबाट अदालत दुःखी बनेको छ ।

सन् १९९८ मा सलमान फिल्म ‘हम साथ–साथ है’को सुटिङका लागि जोधपुर पुगेका थिए । उनीमाथि सहरसँग जोडिएको कांकाणी गाउँको सरहदमा दुई कालो हिरणको शिकार गरेको आरोप लागेको थियो । लामो सुनुवाई पछि उनलाई पाँच वर्षको जेल सजाय पनि सुनाइएको थियो । जबकि अन्य आरोपीहरु सैफ अली खान, अभिनेत्री नीलम, तब्बू र सोनाली बेंद्रेलाई भने तारेखमा रिहा गरिएको थियो । अदालतको आदेश अनुसार सलमान केही समय जेल बसेका थिए र जमानतमा रिहा भए । सलमानलाई सन् १९९८ मा लाइसेन्सको अवधि सकिए पनि अवैध हतियार राखेको आरोप लागेको थियो ।