करोड छोडेर हजारमा विवाह गर्ने यी सेलिब्रेटी

मुम्बई(एजेन्सी) । प्रायः बलिउड सेलिब्रेटीहरु आफ्नो विवाहमा करोडौं रुपैंयाँ खर्च गर्छन् । पछिल्ला केही सालमा भएका रणवीर–दीपिकादेखि लिएर प्रियंका–निक जोनस तथा विराट–अनुष्काको विवाह करोडौं खर्चमा गरिएका विवाहका उदाहरण हुन् । तर बलिउडमा यस्ता पनि कलाकार छन् जो निकै साधारण किसिमले मन्दिरमा सात फेरा लगाएका छन् । उनीहरुको विवाह खर्च पनि केही हजार मात्र छ । तर कति खर्च गरे भन्ने केही खुलाएका छैनन् ।

बलिउड सुपरस्टार शम्मी कपूरले पहिलो विवाह अभिनेत्री गीता बालीसँग गरेका थिए । गीता र शम्मी सन् १९५५ मा फिल्म ‘रंगीन राते’को सुटिङका समयमा नजिकिएका थिए । फिल्म रिलिजको ४ महिना पछि दुवैले मुम्बईको बाणगंगा मन्दिरमा सात फेरा लगाए । त्यस्तै वत्सल सेठले २०१७ नोभेम्बर २८ मा अभिनेता इशिता दत्तसँग मुम्बईको इस्कोन मन्दिरमा विवाह गरे । इशिता र वत्सल टीवी सीरियल ‘रिश्तों का सौदागर–बाजीगर’ मा सँगै काम गरेका थिए । यही समयमा उनीहरुबीच प्रेम भएको थियो ।

अभिनेता सञ्जय दत्तले आफ्नो दोस्रो श्रीमति रिया पिल्लईसँग मन्दिरमै विवाह गरेका थिए । सञ्जय र रिया पहिलोपटक सञ्जयको वकिल महेश जेठमलानीको कार्यालयमा भेट भएको थियो । जहाँ पहिलोपटक देख्नासाथ उनीहरुले एकापसमा मनपराएका थिए । त्यसको दुई वर्ष पछि सन् १९९८ मा मुम्बईको महालक्ष्मी मन्दिरमा उनीहरुले विवाह गरे । उनीहरु सन् २००५ मा सम्बन्धविच्छेद भयो ।

अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपूरले पनि निकै सरल किसिमले विवाह गरे । श्रीदेवीसँग विवाह गर्नु अघि बोनीले अर्को विवाह गरिसकेका थिए । दुई सन्तानका पिता बोनीले श्रीदेवीसँग सन् १९९५ मा मन्दिरमै विवाह गरे । अभिनेत्री दिव्या खोसलाले २१ वर्षको उमेरमा टी–सीरीजका मालिक भुषण कुमारसँग विवाह गरेकी थिइन् । दिव्या र भूषणले सन् २००५ मा जम्मूको वैष्णो देवीको मन्दिरमा विवाह गरेका थिए ।