ऐना झ्यालको पुतलीपछि बुसानमा जुलुङ्गो

काठमाडौं । बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘जुलुङ्गो(ए स्केयरक्रो) छनोट भएको छ । राजेशप्रसाद खत्री लिखित तथा निर्देशित यो सर्ट फिल्म बुसानको ‘एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो । बुसानले चारदिन अघि सार्वजनिक गरेको छनोट सूचीमा मुख्य प्रतिस्पर्धामा सुजित बिडारीको नेपाली फिचर ‘ऐना झ्यालको पुतली’सँगै एसियन सर्टमा ‘जुलुङ्गो’ छनोट भएको हो ।

एसियाको प्रतिष्ठित कोरियाली फिल्म फेस्टिभल बुसानमा छनोटसँगै निर्माण टोलीले बिहिबार ‘जुलुङ्गो’को पोस्टर सार्वजनिक गरेको छ । यससेक्सनमा एसियाबाट १० फिल्म छनोट हुँदा ‘जुलुङ्गो’ पनि परेको हो । नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको फिल्ममा नेपालबाट मीनबहादुर भाम, फ्रान्सका क्याथरिन डसार्ट र हङकङका शुक फोङ चोक निर्माता छन् । यस सेक्सनको विजेताले १० हजार अमेरिकी डलर (करिब ११ लाख ७० हजार) पाउनेछ ।

‘जुलुङ्गो’को कथावस्तु जुम्लाको परिवेशमा एक बालिकाले आफ्ना पढ्ने रहरलाई आफैभित्र राखेर घरायसी काममा सिमित राख्नुपर्ने बाध्यता हो । पश्चिममा जुलुङ्गोको अर्थ बालीनाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ । बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट बन्चित भएकी नानीको कथालाई फिल्ममा देखाइएको छ ।  मुगुको दुर्गम गाउँका शिक्षक समेत रहेका निर्देशक खत्री आफ्नै वरिपरीका दुःख साट्न फिल्म बनाएको बताउछन् । उनको यसअघिको फिल्म ‘जालगेडी’ पनि मुगुकै परिवेशमा बनेको थियो । जसले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो ।

सिडिपी, आरु प्रोडक्सन, अस्लेसा इन्टरटेमेन्ट, ग्रिन एज फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा सूनी फिल्मस्ले निर्माण गरेको फिल्मको सिनेमाटोग्राफी शिशिर बिसंखेले गरेका हुन् । त्यस्तै असिम खनालको सहायक निर्देशन रहेको जुलुङ्गोको किरण श्रेष्ठकोे सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन रहेको छ । फिल्मा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविता भामलगायतको अभिनय रहेको छ ।