न्यूयोर्क(एजेन्सी) । अमेरिकी र्यापर तथा संगीतकार कान्ये वेस्टले आफ्नो ट्वीटर एकाउन्टमा एउटा यस्तो भिडियो पोस्ट गरेका छन्, जुन भिडियो हेर्दा जोकोही चकित र दुःखित दुबै हुन्छन् । कान्येको यो भिडियो सामाजिक सन्जालमा गसिपको विषय बनेको छ । भिडियोमा एक व्यक्तिले ग्रामी अवार्डलाई ट्वाइलेटको कमोडभित्र राखेर त्यसमा पिसाब गरिएको छ । यद्यपि हालसम्म पिसाब गर्ने व्यक्ति कान्ये हुन् या अरु कोही हुन् भन्ने निश्चित भइसकेको छैन ।
यो भिडियो कान्येले आफ्नो अफिसियल एकाउन्टमा पोस्ट गरेका छन् । जसकारण पनि पिसाब गर्ने व्यक्ति कान्ये नै हुन् भन्ने आशंका गरिएको छ । भिडियो सार्वजनिक भएपछि उनका फ्यान तथा ट्वीटर प्रयोगकर्ता दुःखित बनेका छन् । आखिर के कारणले कान्येले यस्तो काम गरे भन्ने कुरा मानिसहरुले बुझ्न सकेका छ्रैनन् । भिडियोमा कान्येले ‘यकिन गर्नुहोस्, म रोकिनेवाला छैन’ भनी लेखेका छन् ।
Trust me … I WONT STOP pic.twitter.com/RmVkqrSa4F
— ye (@kanyewest) September 16, 2020
कान्येले बुधबार आफ्नो ट्विटर एकाउन्टबाट कैयौं ट्वीट गरेका छन् । यसमा म्यूजिक कम्पनीका साथ आफ्नो सम्झौताको कैयौं पृष्ठको तस्बिर सार्वजनिक रुपमा राखेका छन् । ती तस्बिरमा उनले ‘सबै संगीतकार स्वतन्त्र हुनेछन्’ भन्दै लेखेका छन् । उनको आक्रोशलाई हेर्दा उनी म्यूजिक कम्पनीसँग रिसाएका छन् ।
कान्येले सोनी र युनिभर्सल जस्ता ठूला म्यूजिक कम्पनीलाई निशाना साध्दै कैयौं ट्वीट गरेका छन् । उनले आफू आधुनिक गुलामीबाट मुक्त हुन चाहेको लेखेका छन् । कान्येलाई बाइपोलर डिसअर्डर नामक रोग लागेको छ । ग्रामी अवार्ड पाउनु हरेक संगीतकारको लागि एउटा सपना नै हुन्छ । यो संगीत उद्योगको सबैभन्दा ठूलो अवार्ड हो । कान्येले हालसम्म २१ वटा ग्रामी अवार्ड जितिसकेका छन् ।