काठमाडौं । कोरोनाका कारण ठप्प फिल्म क्षेत्र निषेधाज्ञा हटेसँगै केही चलमलाउन थालेको छ । यही मेसोमा नयाँ फिल्मको घोषणा हुने क्रम बढेको छ । यहीक्रममा सम्भवत राजधानीमा सोमबार पहिलोपटक फिल्म क्षेत्रको पहिलो औपचारिक कार्यक्रम गरी ‘हिँड्दा हिँड्दै’ को मुहुर्त गरिएको छ । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आले मगरको निर्देशनमा निर्माण हुने फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत र नवनायिका रेखा शाहको प्रमुख भूमिकामा अभिनय रहनेछ । असोज दोश्रो साताबाट फिल्मको छायांकन शुरु हुनेछ ।
चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा सम्पन्न मुर्हुत सर्टमा आकाश, रेखा र सलोनले अभिनय गरेका थिए । मुर्हुत सर्टमा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कार लामाले क्यामेरा स्वीन अन गरेका थिए भने अर्का पत्रकार तथा निर्देशक डब्बु क्षेत्रीले क्ल्याप दिएका थिए । त्यसैगरी, नरिवल फोड्ने काम चलचित्र पत्रकार संघका महासचिव तथा चलचित्र निर्देशक समीर बलामीले गरेका थिए ।
दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता र सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मको स्क्रिप्ट पनि पंगेनीले नै लेखेका हुन् । काठमाडौ उपत्यका र तराईमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध निर्देशन, बसन्त सापकोटाको संगीत,कविराज गहतराजको नृत्य निर्देशन, अमृत महरठ्ठाको मेकअप,निरञ्जन घिमीरेको ड्रेस, मधुराज भण्डारीको हेयर ड्रेसिङ रहने छ । सुमनकुमार तण्डुकारले खिच्ने फिल्मको मुख्य सहायक निर्देशकमा यम भण्डारी र राजकुमार थिंङ अनि सहायक निर्देशकमा भुपेन्द्र भुजेल र फणिन्द्र बोहरा छन् ।
कार्यक्रममा अभिनेता आकाशले चलचित्रमा आफू लभर ब्वाइको भूमिकामा रहेको खुलाए । त्यसैगरी अर्का अभिनेता सलोनले चलचित्रमा आफू दर्शकलाई हसाउने तथा रुवाउने, दुवै प्रकारको चरित्रमा रहने बताए । नवअभिनेत्री रेखाले ‘हिड्दा हिड्दै’ ले आफूलाई कुशल अभिनेत्रीका रुपमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन् ।
निर्देशक आलेले यो चलचित्रमा युवापुस्ताको प्रेमभावनालाई प्रस्तुत गरिने जानकारी दिए भने लेखक समेत रहेका प्रस्तुतकर्ता पंगेनीले दर्शकको रुचि अनुसारको चलचित्र बन्नेमा बिश्वस्त रहेको बताए । औपचारिक रुपमा मुर्हुत कार्यक्रम गरिनुअघि सोमबार बिहान आफूहरुले कोटेश्वरस्थित माता भगवतीको मन्दिरमा स्क्रिप्ट पूजा गरेको निर्देशक आलेले बताए । चलचित्रका अन्य केही कलाकार र एकजना हिरोइन छनौट हुन बाँकी रहेको बताइएको छ ।