जेम्स बोण्डका भिलेन माइकलको निधन

लसएन्जल्स(एजेन्सी) । एंग्लो–फ्रेन्च अभिनेता माइकल लन्सडेलको निधन भएको छ । सन् १९७९ मा रोजर मोरको जेम्स बोण्ड सिरिज फिल्म ‘मुनरेकर’मा भिलेन चरित्र निभाएका उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

यो फिल्ममा पृथ्वीमा रहेका मानवलाई विष खुवाएर मार्ने र चन्द्रमामा रहेको आफ्नो स्टेसनमा नयाँ जनसंख्या सिर्जना उद्योगी हुगो ड्राक्सको भूमिकामा अभिनय गरेका थिए । योसहित उनले इङ्लिस र फ्रेन्च गरी झन्डै ६ दशकको फिल्मी करियरमा दुई सय बढी फिल्ममा अभिनय गरे । उनले ‘द डे अफ द ज्याकल’ र ‘रोनिन एण्ड म्युनिक’ जस्ता फिल्ममा पनि दमदार अभिनय गरेका थिए । बोण्ड निर्माता माइकल जी विल्सन र बारबरा ब्रोकोलीले लन्सडेललाई ‘बहुमुखी प्रतिभावान अभिनेत र मिल्ने मित्र’ भनेका छन् ।

बोण्ड सिरिजको फिल्ममा भिलेनको भूमिकामा अभिनय गर्दा उनी खुशी थिए । ‘मैले धेरै फिल्ममा अभिनय गरें । तर ती भूमिकामा मैले चर्चा पाइनँ वा धेरै पैसा पनि पाउन सकिएन । म गरिब फिल्मका लागि मात्र जन्मिएको जस्तो लाग्थ्यो । तर बोण्डको फिल्ममा जोडिएपछि मेरो चर्चा ह्वात्तै बढ्यो’, उनले एक अन्तरवार्तामा भनेका थिए, ‘म विद्यालयमा थिएटरका लागि पढिरहँदा शिक्षकले तिमी एकदिन निकै खतरनाक भूमिकामा देखिन्छौ भनेका थिए । नभन्दै मैले हिटलर जस्तो भूमिका पनि निभाए । ऊ सबैलाई मारेर एउटा नयाँ शासन सम्हाल्न चाहन्थ्यो । किनकी ऊ पागल थियो ।

उनले आफ्नो करियरमा फिल्म, टेलिभिजन, रेडियो र स्टेजमा आफ्नो प्रतिभा देखाए । बोण्ड फिल्ममा आउनु अघि उनले सन् १९७३ को राजनीतिक थ्रिलर फिल्म ‘द डे अफ द ज्याकल’मा डेपुटी कमिसनर क्लाउडे लेबेलको भूमिकामा अभिनय गरेका थिए ।