फेरि दोहोरो भूमिकामा शाहरुख

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खान पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिए । यो फिल्म रिलिज भएको करिब दुई वर्ष पुगेको छ र अभिनेताले हालसम्म कुन फिल्ममा काम गर्ने भन्ने निश्चित गरिसकेका छैनन् । शाहरुखका फ्यानहरु फेरि उनलाई धमाकेदार पुनरागमन भएको हेर्न चाहन्छन् । शाहरुखले आगामी दिनका लागि ३ फिल्मको लक गरिसकेका छन् ।

यी तीनमध्ये कुनै एकको पनि घोषणा भएको छैन । शाहरुख फिल्म ‘पठान’मा देखिने चर्चा चलेको थियो । फिल्ममा उनको अपोजिटमा दीपिका पादुकोण हुनेछिन् । त्यस्तै शाहरुख निर्देशक राजकुमार हिरानीको एक सामाजिक कमेडी फिल्ममा देखिनेछन् । यसबाहेक उनी दक्षिण भारतीय प्रख्यात निर्देशक अत्ली कुमारले बनाउन लागेको एक फिल्ममा पनि देखिनेछन् ।

अत्ली र शाहरुख पछिल्लो दुई वर्षदेखि यो फिल्ममा काम गरिरहेका छन् । शुरुवातमा जब अत्लीले फिल्मको स्क्रिप्ट शाहरुखलाई देखाए, शाहरुखले उक्त फिल्ममा काम गर्न रुची देखाए । तर उनले स्क्रिप्टमा केही बदलावको माग गरे र निर्देशकलाई पुनः यसमा काम गर्न आग्रह गरे ।

अत्लीको फिल्ममा शाहरुख दोहोरो भूमिकामा देखिँदैछन् । उनी एक उत्कृष्ट भारतीय एजेन्सीको अनुसन्धान अधिकृत र अपराधीको भूमिकामा देखिनेछन् । उनको आगामी फिल्म यही दुई पात्रको वरपर घुम्नेछ । शाहरुखले फिल्ममा दोहोरो भूमिका निभाएको यो पहिलो अवसर होइन । यसअघि उनी फिल्म ‘फ्यान’मा दोहोरो भूमिकामा थिए ।