अफ्रिकी मुसालाई स्वर्ण पदक !

डोडोमा(एजेन्सी) । अफ्रिकी नश्लको एक ठूलो मुसालाई ब्रिटेनको एक संस्थाले बहादुरीका लागि स्वर्ण पदकले सम्मान गरेको छ । यो मुसाले कम्बोडियामा आफ्नो सुघ्ने क्षमताले ३९ बारुदी सुरुङ पत्ता लगाएको थियो । आफ्नो कामको समयमा मुसाले विष्फोट हुन बाँकी २८ पदार्थ पनि पत्ता लगाएको थियो । अफ्रिकी मूलको जाइन्ट पाउच्ड जातको यो मुसाको नाम मागावा हो । जसको उमेर ७ वर्षको रहेको छ ।

गत शुक्रबार ब्रिटेनको च्यारिटी संस्था पीडीएसएले यो मुसाको कामबाट प्रभावित भएर स्वर्ण पदक प्रदान गरेको थियो । मागावालाई यो कामको लागि एपीओपीओले प्रशिक्षण दिएको थियो । संस्थाका अनुसार मागावाले आफ्नो कामका माध्यमबाट कम्बोडियामा २० फूटबल मैदान बराबर क्षेत्रको बारुदी सुरुङहरु र विष्फोटक पदार्थ पत्ता लगाएको थियो ।

यो मुसाको तौल १ दशमलब २ किलोको छ । सोहीकारण बारुदी सुरुङको माथि हिँड्दा पनि यसको वजनका कारण विष्फोट हुन पाएन । यो मुसा यति प्रशिक्षित छ कि केबल आधा घण्टामै एक टेनिस कोर्ट बराबरको क्षेत्र सुँघेर पत्ता लगाउन सक्छ । जबकी यति नै क्षेत्रमा एक मानिसले बम डिटेक्टरको मद्दतले करिब चार दिन समय लगाउछ । जुन बेला उसको वजनका कारण विष्फोटको खतरा पनि उत्तिकै रहन्छ ।