प्रेम प्रस्ताव राख्दा गिनिजमा नाम !

टोकियो(एजेन्सी) । आजकल मानिसहरु आफ्नो प्रेम पाउनका लागि के के मात्र गर्दैनन् । कहिले प्रेमिका वा प्रेमीलाई गुलाब दिएर आफूतिर आकर्षित गर्छन्, कहिले प्रेमका लागि ज्यान पनि दिन तयार हुन्छन् । तर जापानका एक युवकले भने प्रेमिकालाई प्रस्ताव गर्दा यी दुई कुरा अपनाएनन् । उनले त यस्तो काम गरे, जुन काम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता नै भयो । उनले प्रविधिमार्फत प्रेमिकालाई विवाहको प्रस्ताव गरे । यस्तो प्रस्ताव सम्भवत आजसम्म कसैले पनि गर्न सकेको छैन ।

जापानका टाकाहाशीले आफ्नो प्रेमिकालाई केही अलग किसिमले प्रस्ताव गर्ने निर्णय लिए । टाकाहाशीले एउटा यस्तो जीपीएस आर्ट तयार पारे, जुन निकै रचनात्मक थियो । यो जीपीएस चित्र विश्वकै सबैभन्दा लामो जीपीएस रेकर्ड भएको छ । उनले यो आर्ट तयार पार्नका लागि राम्रो पैसा आउने जागिर नै छोडिदिए ।

टाकाहाशीले गुगल अर्थमा ‘म्यारी मी’ चित्र तयार पारे । यो चित्र तयार पार्नका लागि उनले पुरा जापान घुमे । उनलाई यो काम पुरा गर्न करिब ६ महिना लाग्यो । यस्तो अनौठो प्रस्ताव देखेपछि टाकाहाशीकी प्रेमिकाले ‘हुन्छ’ भनेकी थिइन् ।

टाकाहाशीको यो अनौठो प्रस्तावमा गुगलको नजर पर्यो । त्यसपछि गुगलले आफ्नो अफिसियल हेण्डलमा यसलाई ट्वीट गर्यो । गुगलले ट्वीट गरेको यो भिडियो सामाजिक सन्जालमा भाइरल बनिरहेको छ ।