जापानी अभिनेत्री युको मृत फेला

टोकियो(एजेन्सी) । जापानी अभिनेत्री युको टेकची टोकियोस्थित घरमा मृत भेटिएकी छन् । अवार्ड विजेता ४० वर्षीया दुई सन्तानकी आमा घरमा नै मृत भेटिएकी हुन् । प्रहरीले उनको मृत्युको विषयमा छानविन शुरु गरिसकेको छ ।

समाचार अनुसार युकोका अभिनेता पति ताइकी नाकाबेयासीले उनलाई सिबुया वार्डको घरमा भेटेका थिए । उनलाई अस्पताल लगेपछि मृत घोषणा गरिएको थियो । टुको जापानकी प्रख्यात अभिनेत्री हुन् । उनले धेरै फिल्म र टेलिभिजन सिरिजमा अभिनय गरेकी थिइन् ।

उनले सन् २०१८ को एचबीओ सिरिज ‘मिस सेर्लोक’मा सेर्लोक होल्म्सको भूमिकामा अभिनय गरेकी थिइन् । यो सिरिज अमेरिकासहित विभिन्न देशमा प्रसारण भएको थियो । उनले सन् २००४ देखि २००७ सम्म लगातार जापान एकेडेमी अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।

उनले आत्महत्या गरेकी हुन् या होइनन् भन्ने कुरा निश्चित भइसकेको छैन । पछिल्लो समयमा जापानमा प्रतिभावान कलाकारको निधन हुने क्रम बढ्दो छ । गत महिना मात्र अभिनेत्री सिइ आशिना मृत भेटिएकी थिइन् । त्यस्तै गत जुलाईमा हारुमा मिउरा र मेमा रेस्लिङ स्टार हाना किमुराको निधन भएको थियो ।

विश्वका अन्य देशको तुलनामा जापानमा आत्महत्याको दर उच्च छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१५ मा प्रतिरक्षात्मक कार्यक्रम ल्याइएपछि आत्महत्याको दरमा केही कमी आएको थियो ।