आजमगढ(एजेन्सी) । कोरोना भाइरस महामारी र त्यसबाट बच्नका लागि सरकारले लगाएको ६ महिना भन्दा बढी समयको लकडाउनले भारतको अर्थव्यवस्थालाई कमजोर पारेको छ । करोडौं मानिस बेरोजगार भएका छन् भने जीडीपी माइनस २३ मा पुगेको छ । यसको असर टेलिभिजन उद्योगमा पनि परेको छ । यहीकारण चर्चित टेलिसिरियल ‘बालिका वधु’, ‘कुछ तो लोग कहेंगे’ का निर्देशक रामवृक्ष गौड परिवारको पेट पाल्नकै लागि तरकारी व्यापारमा लागेका छन् ।
आजमगढ जिल्लाको निजामाबाद गाउँको फरहाबाद बस्ने रामवृक्ष सन् २००२ मा आफ्ना मित्र साहित्यकार शाहनवाज खानको सहयोगले मुम्बई पुगेका थिए । उनले फिल्म उद्योगमा स्थापित हुनका लागि निकै मेहनत गरेका थिए । उनले शुरुमा लाइट विभागमा काम गरे । त्यसपछि टेलिभिजन प्रोडक्सनमा आफ्नो भाग्य चम्काए । विस्तारै विस्तारै अनुभव बढ्दै गएपछि उनले निर्देशनमा अवसर पाए । निर्देशनको काम उनलाई मनपर्यो र उनले यही क्षेत्रमा करियर बनाउने निर्णय लिए ।
उनले यसअघि कैयौं सिरियलमा प्रोडक्सनमा सहायक निर्देशक भई काम गरे । त्यसपछि उनी एपिसोड निर्देशक, युनिट निर्देशक भएर पनि काम गरे । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । ‘बालिका बधु’मा यूनिट निर्देशन भएर उनले काम गरे । त्यसपछि ‘इस प्यार को क्या नाम दूं’, ‘कुछ तो लोग कहेंगे’, ‘हमार सौतन हमार सहेली’, ‘झटपट चटपट’, ‘सलाम जिन्दगी’, ‘हमारी देवरानी’, ‘थोडी खुशी थोडा गम’, ‘पूरब पश्चिम’, ‘जूनियर जी’ जस्ता सिरियलमा उनले काम गर्ने अवसर पाए ।
उनले यशपाल शर्मा, मिलिन्द गुणाजी, राजपाल यादव, रणदीप हुडा, सुनील शेट्टीको फिल्ममा पनि सहायक निर्देशकका रुपमा काम गरेका छन् । आउने दिनमा उनको हातमा एक भोजपुरी र एक हिन्दी फिल्म छ । रामवृक्षको मुम्बईमा घर छ । लकडाउनअघि उनी एक फिल्मको रेकीका लागि आजमगढ आएका थिए । तर कोरोना संक्रमणको लकडाउनका कारण उनी मुम्बई फर्कन सम्भव भएन । त्यही उनलाई आर्थिक समस्या शुरु भयो । निर्माताले अब डेढ वर्षपछि मात्र काम शूरु हुने भएपछि आमाबाबुको कारोबारलाई हेर्ने निर्णय लिए ।