तारक मेहताकी प्रियालाई कोरोना

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको कहर दिनानुदिन बढ्दो छ । कैयौं टेलिभिजन र फिल्मी कलाकार पनि यसको चपेटामा परिसकेका छन् । टेलिभिजनको लोकप्रिय सिरियल ‘तारक मेहताका उल्टा चश्मा’मा रीटा रिपोर्टरको भूमिकामा अभिनय गर्ने प्रिया अहूजालाई कोरोना संक्रमण भएको छ । उनले आफ्नो इन्स्टाग्राम एकाउन्टका माध्यमबाट यो कुराको जानकारी दिएकी हुन् ।

गत वर्षको नोभेम्बरमा यी अभिनेत्रीले एक सन्तानलाई जन्म दिएकी थिइन् । त्यहीकारण उनी प्रसुति बिदाका कारण हालसम्म सुटिङ गरेकी छैनन् । ‘म कोभिड टेस्ट पोजेटिभ छु भन्ने कुरा बताउनु मेरो कर्तव्य हो । ममा कुनै लक्षण छैन । म ठीक छु । म बीएमसी र डाक्टरले दिएको सल्लाहको पालना गरिरहेकी छु’, उनले लेखेकी छन् ।

उनले आफू घरमै क्वारेन्टाइनमा रहेको र आफूसँग दुई तीन दिन यता सम्पर्कमा रहेकाले आफ्नो टेस्ट गराउन भनेकी छन् । ‘म सुटिङमा नभई घरमा नै थिएँ । तर पनि भाइरसले भेट्यो । आफूलाई सुरक्षित राख्नुहोला । मास्क लगाउन नभुल्नु होला,’ उनले लेखेकी छन् ।