काबुल(एजेन्सी) । अफगानी महिला फातिमा सुल्तानी आफ्नो साथीको साथमा हिन्दु कुश पहाडहरुमा नौशखको शिखरमा पुग्न सफल भइसकेका छन् । यो पहाड अफगानिस्तानमा रहेको ७ हजार ४ सय ९२ मिटरको सबैभन्दा अग्लो हिमाल हो । अफगानिस्तानको राजधानी काबुलको सबैभन्दा अग्लो हिमालमा चढेपछि १८ वर्षीया फातिमाको ध्यान विश्वकै सर्वोच्च शिखर सगरमाथातिर गएको छ ।
फातिमाको पर्वतारोहण टीममा तीन सदस्य छन् । यो समूहले अब अफगानिस्तानको मीर समीर पर्वतको पर्वतारोहणको योजना बनाएको छ । यो आरोहण पछि उनीहरुको ध्यान सगरमाथा तिर मोडिनेछ । ‘मेरो मुख्य उद्देश्य अफगान महिला कति मजबुत छन् भनेर विश्वलाई देखाउनु हो । उनीहरु सबैभन्दा बढी चुनौतिपूर्ण काम पनि गर्न सक्छन् भनेर देखाउनु पनि हो । जब मलाई विश्वका अन्य देशका महिलाहरु हिमाल चढ्न लागि आउछन् भन्ने थाहा भयो, त्यसपछि मैले पनि हामी किन गर्न सक्दैनौं भन्ने सोचें’, उनले भनेकी छन् ।
सुल्तानी र उनको समूहले कोरोना भाइरसको महामारीमा पनि हिमाल आरोहणको अभियानलाई निरन्तरता दिइरहे । उनी ७ हजार ४ सय ९२ मिटरको हिमाल आरोहण गर्ने विश्वकै कम उमेरको महिलाको रेकर्ड पनि राखेकी छन् ।