सुँगाले अश्लील गाली गरेपछि…

लण्डन(एजेन्सी) । सुँगाले गीत गाएको, मानिससँग कुराकानी गरेको सबैले देखेकै हो । तर ब्रिटेनको एक चिडियाखानामा बस्ने सुँगाले भने यो भन्दा फरक काम गरेको छ । जसकारण ऊ कारवाहीको भागीदार पनि हुनुपरेको छ । चिडियाखानाका पाँच सुँगाले चिडियाखाना हेर्न आउने मानिसहरुलाई गाली गर्न थालेपछि ती सुँगालाई त्यहाँबाट हटाइएको छ ।

समाचार अनुसार यी पाँच सुँगाले केही समय क्वारेन्टाइनमा बिताएका थिए । क्वारेन्टाइनमा बसेपछि यी सुँगामा केही बदलाव आएको थियो । त्यही बदलावका कारण उनीहरुले चिडियाखाना घुम्न आएका व्यक्तिहरुसँगै उनीहरुका सन्तानलाई अश्लील गाली गर्न थालेका छन् । जसकारण चिडियाखानाका कर्मचारीहरु चिन्तित बनेका थिए ।

यी सुँगा पूर्वी इंग्ल्याण्डको लिंकनशायर वाइल्डलाइफ पार्कलाई दिइएको थियो । चिडियाखानाका कर्मचारीका अनुसार यस्तो घटना पहिला पनि भएको थियो । पार्कका प्रमुख कार्यकारीले यी पाँच सुगाको नाम एरिक, जेड, टाइसन, बिली र एल्सी रहेको बताए । यी सुँगालाई अलग अलग व्यत्तिले चिडियाखानालाई दिएका थिए ।

चिडियाखानालाई हस्तान्तरण गरेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनको समयावधि पुरा भएपछि चिडियाखानामा आउनासाथ उनीहरुले गाली गर्न थालेका छन् । जसकारण उनीहरुलाई अलग अलग राख्ने निर्णय चिडियाखाना प्रशासनले लियो । ‘चराचुरुंगी जे पनि बोल्न सिक्दछन् । उनीहरु शब्दलाई सजिलै पक्रन सक्छन् । सुँगाको गालीलाई धेरैले आनन्द लिएका थिए । तर बच्चामा यसको गलत असर पर्यो । उनीहरु सुध्रिएपछि पुनः चिडियाखानामा राखिनेछ’, उनले भने ।