सलमानसँग निहुँ खोज्दा करियर धरापमा

मुम्बई(एजेन्सी) । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को घरमा बस्ने जोकोही प्रतिष्पर्धी अभिनेता सलमान खानको हरेक कुरा मान्दछन् र उनका प्रत्येक कुरालाई ध्यानपूर्वक सुन्छन् । ‘बिग बोस’को इतिहासमा केही यस्ता प्रतिष्पर्धी पनि छन्, जसले सलमानको कुनै न कुनै कुरामा निहुँ खोजे । सलमानसँगको यही निहुँ खोजाईले अहिले उनीहरुको करियर धरापमा परेको छ । सलमानसँग निहुँ खोज्नुको कारण नै उनीहरु बेरोजगार बनेका छन् ।

‘बिग बोस’को पाँचौं सिजनको एक भागमा आकाशदीप सहगल सलमानको कुरालाई वेवास्ता गर्दै सिट छोडेर निस्किएका थिए । यसपछि सलमानसँग उनको धेरै बहस पनि भयो । यसअघि आकाशदीपले एकता कपुरको सुपरहिट सिरियल ‘क्योंकि सास भी कभी बहु थि’मा काम गरेका थिए । तर सलमानसँग निहुँ खोजेपछि उनी लामो समयदेखि कुनै प्रोजेक्टमा देखिएका छैनन् । ‘बिग बोस’ को दशौं सिजनबाट सलमानले आफैं प्रियंका जग्गालाई घरबाट बाहिर निकाले । प्रियंकाले वीकेन्डका वार भागमा सलमानसँग झगडा गरेकी थिइन् । ‘स्पिलिस्टविला २’को उपाधि जितेका सिद्धार्थ भारद्वाज सबैमाझ परिचित भएका थिए । सलमानसँग ‘बिग बोस ५’मा निहुँ खोज्दा उनी मनोरन्जन उद्योगबाटै पलायन भए ।

‘बिग बोस ११’ मा देखिएका जुबैर खानले शुरुवातमै ताण्डव शुरु गरेका थिए । अभिनेता सलमानले आवेगमा जुबैरलाई घरबाहिरको बाटो पनि देखाएका थिए । शोबाट बाहिर गएपछि उनले सलमानका विरुद्ध उजुरी दर्ता गराएका थिए । ओम स्वामीले सलमानको मात्र होइन, सबै प्रतिष्पर्धीसँगै दर्शकले पनि टाउकोमा हात राख्ने वातावरण बनाइदिए । स्वामी ओम बलिउडमा काम गर्न चाहन्थे, तर सलमानलाई आँखा देखाएपछि बलिउडमा काम गर्ने उनको चाहना चकनाचुर भयो ।गतवर्षको सिजनमा सलमानले अरहान खानको कच्चा चिठ्ठा खोलेका थिए । अरहानले रश्मी देसाईसँग आफ्नो विवाहसँगै छोराछोरीको सत्यता लुकाएका थिए । यो कुरालाई लिएर सलमान निकै दुःखी थिए । त्यहीकारण उनले सबैका अगाडि अरहानलाई गाली पनि गरेका थिए ।

‘बिग बोस’को हरेक सिजनलाई ध्यानपूर्वक हेर्ने दर्शकले इमान सिद्दिकी र सलमानको बहसलाई बिर्सन सक्दैनन् । गत वर्षको सिजनको शुरुवातमै सलमानले असीम रियाजलाई मनपराएका थिए । आफ्नो हिंस्रक व्यवहारका कारण असीम दिनप्रतिदिन सलमानको नजरमा परिसकेका थिए । असीमको प्रेमिकाको सत्यता बाहिर आउना साथ सलमानले उनलाई वर्ग छुट्याएका थिए । शो सकिएपछि असीम केही म्यूजिक भिडियोमा देखिएका थिए । तर उनले अहिलेसम्म ठूलो ब्रेक कतैबाट पाएका छैनन् ।