पौराणिक वेब सिरिज बनाउदै धोनी

मुम्बई(एजेन्सी) । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीलाई भारतीय क्रिकेट टिमको सबैभन्दा सफल कप्तानमध्ये एक मानिन्छ । यसै वर्षको अगष्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाशको घोषणा गरेका उनी हालका दिनमा दुबईमा भइरहेको इण्डियन प्रिमियर लिगमा आफ्नो टिम चेन्नाई सुपर किङ्सको कप्तानी गरिरहेका छन् । भारतीय क्रिकेट टिमलाई दुईपटक विश्वकप जिताउने धोनी अवकाश पछि के गर्छन् भन्ने कुरामा उनको फ्यानलाई कौतुहल छ । यही परिप्रेक्ष्यमा धोनीकी पत्नी साक्षीले धोनीको अवकाशपछिको योजनाको खुलासा गरेकी छन् ।

क्रिकेटको विश्वबाट बिदा लिएपछि धोनी पूर्ण रुपमा मनोरन्जन जगतमा पाइला चाल्दैछन् । सन् २०१९ मा उनले धोनी इन्टरटेनमेन्ट नामको आफ्नो प्रोडक्सन हाउस सार्वजनिक गरेका थिए । यो व्यानरबाट कैयौं भाषामा एक वृत्तचित्र बनाइएको थियो । जसको नाम ‘रोर अफ द लायन’ राखिएको थियो । यो वृत्तचित्रका निर्देशक कबीर खान हुन् ।

अब धोनीको यो प्रोडक्सन हाउस एक पौराणिक विज्ञानमा आधारित पौराणिक वेब सिरिज बनाउदैछ । धोनी इन्टरटेनेमन्टकी प्रबन्ध निर्देशक रहेकी साक्षीले एक लेखकको अप्रकाशित पुस्तकको रुपान्तरणका रुपमा सिरिज रहने बताइन् । उनका अनुसार यो सिरिज एक रोमाञ्चकारी साहसिक हुनेछ । ‘त्यो पुस्तकमा लेखिएको कथा एक रहस्यमय अघोरीमा आधारित छ । जो एक एकान्ट टापुमा कैयौं सारा हाइटेक सुविधाका साथ बस्दछ ।’ उनले भनेकी छन् । सिरिजका लागि कलाकार र निर्देशक चाँडै नै फाइनल हुनेछ ।