सुशान्तलाई न्याय माग्दै भोक हड्ताल

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतका लागि न्यायको माग गरिरहेका उनका आफन्त, फ्यान तथा परिवार अहिले बेचैन अवस्थामा छन् । यही परिप्रेक्ष्यमा सुशान्तका साथी कोरियोग्राफर गणेश हिवारकर र अभिनेताका पूर्व स्टाफ सदस्य अंकित आचार्यले सुशान्तलाई न्यायको माग गर्दै तीन दिन भोक हड्ताल गर्ने घोषणा गरेका छन् । सुशान्त मामलामा सीबीआईको जाँचमा भइरहेको ढिलाईलाई लिएर उनीहरु सेतो कपडा बाँधेर भर्चुअल विरोधको तयारीमा छन् ।

‘म दिल्ली एयरपोर्ट पुगेको छु र सुशान्तको फ्यानको प्रतिक्षा गर्न सक्दिनँ । साथीहरु आज हामी पुरा दिल्लीलाई हल्लाउनेछौं । कृपया शक्तिवान रहनुहोला । हामीसँग एउटै एजेण्डा छ, त्यो हो जस्टिस फर सुशान्त’, गणेशले सामाजिक सन्जालमा लेखेका छन् । उनले आफ्नो पोस्टमा एयरपोर्टबाट राजघाटसम्म पदयात्राको कुरा लेखेका छन् ।

दिल्ली पुग्नासाथ अंकितलाई प्रहरीले पक्राउ गरेर लगेको थियो । तर अंकितले आफूलाई प्रहरीले सुरक्षाका कारण लगेको दाबी गरेका छन् । गणेश र अंकित गान्धी जयन्तीको दिन अर्थात शुक्रबारबाट दिल्लीमा भोक हड्ताल गर्दैछन् ।

हालै मात्र गणेशको एक ट्वीट भाइरल भइरहेको थियो, जसमा उनले आफ्नो र अंकितको सुरक्षाको माग गरेका थिए । गणेश र अंकितलाई मिडियामा सत्य कुरा बताएको भन्दै धम्की आएको उनीहरुको दाबी थियो ।