शाहिदको पारिश्रमिकमा २५ प्रतिशत कटौती

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारीले फिल्म निर्माणको गतिशिलतामा नै परिवर्तन ल्याइदिएको छ । सेटमा नयाँ प्रोटोकलका कारण सुरक्षा उपाय अपनाउनुपर्ने भएपछि निर्मातालाई अतिरिक्त आर्थिक भार पनि उत्तिकै परेको छ । यस्तो अवस्थामा कैयौं बलिउड कलाकारले आफ्नो पारिश्रमिकमा कटौती गर्दै निर्मातालाई सहयोग गरिरहेका छन् ।

यो सूचीमा अब अभिनेता शाहिद कपुर पनि जोडिएका छन् । उनले आफ्नो आगामी फिल्म ‘जर्सी’को फिस्मा २५ प्रतिशत कटौती गरेका छन् । शाहिदले यो फिल्म दुई सर्तमा हस्ताक्षर गरेका थिए । पहिलो पारिश्रमिक ३३ करोड रुपैंयाँ र दोस्रो नाफामा साझेदारी थियो । निर्माताहरु यो कुरामा सहमत भएका थिए । भारतमा महामारी आँउदा यसको सुटिङ भइहेको थियो । तर महामारीले विस्तरा रुप लिएपछि भने रोकियो ।

केही महिना यता फिल्म निर्माणको शैलीमा परिवर्तन आएपछि निर्माताले बढ्दो बजेटलाई ध्यानमा राख्दै कलाकारलाई पारिश्रमिक घटाउन आग्रह गरेका थिए । अधिकांश कलाकारले यसमा असहमति जनाइरहँदा शाहिद भने तयार भए । उनले आफ्नो पारिश्रमिक ८ करोड घटाएर २५ करोड पुर्याएका छन् । तर निर्माताले शाहिदको फिल्मी मुनाफाको शेयरमा कुनै परिवर्तन गरिएको छैन । जस अनुसार उनले मुनाफाको ३० प्रतिशत हिस्सा लिनेछन् ।

शाहिदको फिल्म ‘जर्सी’ नानी स्टारर तेलुगु फिल्म ‘जर्सी’को हिन्दी रिमेक हो । फिल्ममा मृणाल ठाकुर र पंकज कपूरको पनि महत्वपूर्ण भूमिका छ । फिल्मको निर्देशन तेलुगू संस्करणकै निर्देशक गौतम तिन्नानुरीले नै हिन्दी भर्सनको निर्देशन गर्नेछन् ।