कमजोर बन्दै सञ्जयको स्वास्थ्य

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सञ्जय दत्त हालका दिनमा क्यान्सरसँग युद्ध लडिरहेका छन् । उनी त्यहीकारण मुम्बईमा आफ्नो उपचार गरिरहेका छन् । उनी केही समय अघि मात्र आफ्नो परिवारका साथ दुबईबाट भारत फर्किए । भारत फर्किएपछि उनी अस्पताल पुगे । अस्पताल गएपछिको एक फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । तस्बिरमा सञ्जयको अनुहार देखेपछि उनको स्वास्थ्यका बारेमा विभिन्न अड्कलबाजी गर्न थालिएको छ । फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

यो तस्बिर सञ्जयका एक फ्यानले लिएका हुन् । तस्बिरमा सञ्जय निकै कमजोर देखिएका छन् । क्लिन शेवका कारण उनको शरीरमा धेरै बद्लाव देखिएको छ । यो तस्बिर सामाजिक सन्जालमा आएपछि उनको स्वास्थ्य प्रति फ्यानको चासो ह्वात्तै बढेको छ । सञ्जय अहिले आफ्नो सुटिङलाई रोकेर उपचारमा ध्यान दिइरहेका छन् ।

सञ्जय आफ्नो उपचारको पहिलो चरण पुरा गरेपछि परिवारका साथ दुबई गएका थिए । यसअघि सञ्जय उपचारका लागि अमेरिका जान सक्ने समाचार आएको थियो । तर अहिले उनी मुम्बईमा नै उपचार गरिरहेका छन् ।