कैदीलाई योगा सिकाउथिइन् रिया

मुम्बई(एजेन्सी) । करिब एक महिनासम्मको जेल बसाई पछि बुधबार अभिनेत्री रिया चक्रवर्ती अदालतको सशर्त आदेशमा रिहा भइन् । बम्बई उच्च अदालतले लागुऔषध प्रयोगको आरोपमा जेल पठाउने निर्णय भएपछि उनी २८ दिनदेखि मुम्बईको भायखला जेलमा आफ्नो भाई शौविक चक्रवर्तीका साथ बन्धक थिइन् । यद्यपि उनको भाईको जमानत याचिका भने अदालतले अस्वीकार गरेको छ ।

जेलमा बस्दा उनी के गर्थिन् भन्ने रोचक खबर सार्वजनिक भएको छ । समाचार अनुसार उनी जेलमा कैदीहरुलाई योग सिकाउथिइन् । रियाका वकिल सतीश मानसिन्देले यस्तो दाबी गरेका हुन् । ‘जब म रियालाई भेट्न जेल गएँ, रिया राम्रो काम गरिरहेकी थिइन् । रिया जेलमा आफैं योगा त गर्थिन् नै । उनी आफूसँगै अन्य कैदीलाई पनि योगा सिकाउथिइन्’, उनले भनेका छन् ।

सतीशका अनुसार कोरोना महामारीका कारण रियाले घरको खाना खान पाइनन् । यहीकारण उनी कैदीहरुका साथ एक सामान्य कैदी सरह बसिन् । रियालाई अदालतले रिहाको आदेश दिनु आफूहरुका लागि सत्य र न्यायको जीत भएको उनको दाबी छ ।

त्यसो त अदालतले रियालाई कैयौं शर्तमा जमानतमा रिहा गरेको हो । शर्त अनुसार एक लाख रुपैंयाँ मुचुल्का, जाँच एजेन्सीको साथमा आफ्नो पासपोर्ट राख्नुपर्ने छ । यसबाहेक उनले हरेक महिनाको पहिलो सोमबार बिहान १० बजेदेखि ११ बजेसम्म एजेन्सीको अफिस आउनुपर्नेछ । यो प्रक्रिया ६ महिनासम्म चल्नेछ । आफ्नो रिहाईको शुरुवाती १० दिनसम्म दैनिक रुपमा पुलिस स्टेशनमा आफ्नो उपस्थिति दर्ता गराउनुपर्नेछ ।