वनचरी लिएर आइन् भूमिका

काठमाडौ । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत ‘वनचरी’ सार्वजनकि भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार भिडियो रिलिज गरिएको हो ।

गीतमा एउटी नारीको जीवनयात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमा प्रति दर्शाउने अगाध प्रेम र माईती गाउँको नोस्टाल्जिया गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताईन । सुब्बा आफै गायिकासमेत हुन् । उनका ‘मालिंगो सैसै’, ‘भूमिका’ र ‘संगिनी’ गरी तीन सोलो एल्बम रहेका छन् । उनका आधा दर्जनभन्दा बढी संयुक्त गीतिसंग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाको खास गरी जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन ।

गीत ‘वनचरी’मा गायिका एलिना चौहानको स्वर छ । गीतमा साजन राईको संगीत छ । भिडियोमा कलाकार लक्ष्मी बर्देवा र अञ्जु देउजा फिचर्ड छन् । किरण चाम्लिङ राईले निर्देशन गरेको भिडियोमा भूपेन्द्र तुम्बाहाङ्गफेको छायांकन छ ।

गीतकार सुब्बा अनुसार गीतमा चाडपर्व नजिकिदै गर्दा एउटी छोरीले माइतीगाउँ र जन्मदिने आमा सम्झिएर वनचरी जस्तै स्वतन्त्र भई आमालाई भेट्न माइतीघर जाने भाव इच्छा व्यक्त गरिएको छ ।