गरिमासँग आकाशको हिजो जस्तो लाग्छ

काठमाडौं । अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै आएका गायक, गीतकार तथा संगीतकार दावा गुरुङको नयाँ गीत ‘हिजो जस्तो लाग्छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दावा र गायिका वानिका प्रधानको युगल स्वर रहेको गीतमा शब्द र संगीत स्वयम् गायक दावाकै रहेको छ । गीतमा रोमी बस्नेतको संगीत संयोजन गरेका छन् ।

प्रेमिल शैलीको यस गीतमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ । म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र टिकटक गर्ल गरिमा शर्माको प्रेम र रोमान्स देख्न सकिन्छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकाश धमलाको सम्पादन र निकेश खड्काको निर्देशन छ ।

२०५६ सालबाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका गायक गुरुङले हालसम्म २ वटा स्टुडियो एलबम र अन्य थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । उनी २०६५ सालमा इमेज अवार्ड र हिट्स एफएम अवार्डबाट समेत अवार्डेड भइसकेका छन् । गायक गुरुङको युट्युब च्यानल सिंगर दावा गुरुङ अफिसिएलमार्फत भिडियो सार्वजनिक भएको हो ।