मुम्बई(एजेन्सी) । लागुऔषधको मामला बलिउड अभिनेत्री रिया चक्रवर्तीले अन्ततः अक्टोबर ७ मा जमानत पाइन् । उनले झन्डै २८ दिन मुम्बईको भायलखला जेलमा बिताइन् । यो समय रियाका लागि सबैभन्दा समस्याग्रस्त समय थियो । तर रियामात्र एक्ली अभिनेत्री होइनन्, बलिउडमा यस्ता केही महिला सेलिब्रेटी छन्, जसले गम्भीर आरोपको सामना गर्दै जेल सजाय कटाएका छन् । रिया भन्दा अघि केही अभिनेत्रीहरुले जेलको हावा खाइसकेका छन् ।
अन्डरवल्र्ड डन अबू सलेमकी प्रेमिका रहेकी अभिनेत्री मोनिका बेदीलाई सन् २००६ मा चार वर्षको जेल सजाय सुनाइएको थियो । सलेमका साथ उनले अवैध तरिकाले फर्जी दस्तावेजको प्रयोग गरेवापत दोषी ठहराइएको थियो । लिस्बन प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । त्यसपछि उनले चार वर्ष जेलमा बिताइन् । सन् २०१० मा सजाय पुरा गरेर उनी जेलबाट रिहा त भइन्, तर उनको फिल्मी करियर ध्वस्त भयो । फिल्म ‘सुरक्षा’, ‘प्यार इश्क और मोहब्बत’, ‘जोड़ी नंबर १’ जस्ता फिल्ममा अभिनय गरेकी थिइन् । उनले सन् २०१३ मा टेलिसिरियल ‘सरस्वतीचन्द्र’बाट कमव्याक गर्ने प्रयास गरे पनि उनी असफल साबित भइन् ।
सामाजिक सन्जालमा आफ्नो विवादित भनाईका लागि प्रख्यात अभिनेत्री पायल रोहतगीले सन् २०१९ मा जेलको हावा खानु पर्यो । गान्धी–नेहरु परिवारका विरुद्ध आपत्तिजनक भिडियो सामाजिक सन्जालमा पोस्ट गरेका कारण उनलाई राजस्थान प्रहरीले पक्राउ गरेको थियो । उनलाई आइटी एक्ट अनुसार मुद्दा हाली जेल पठाइएको थियो । तर जमानत मिलेपछि उनी रिहा भइन् ।
बाल कलाकारका रुपमा नेशनल अवार्ड जितेकी अभिनेत्री श्वेता बसु प्रसादको नाम सन् २०१४ मा सेक्स रेकेटको मामलामा मुछिएपछि बलिउडमा हंगामा मच्चिएको थियो । उनलाई हैदराबाद प्रहरीले एक होटलमा सेक्स रेकेट चलाइरहँदा रंगेहात पक्राउ गरेको थियो । यद्यपि यो मामलामा उनले क्लिन चिट पाइन् । त्यसपछि उनले पुनः आफ्नो फिल्मी करियरतिर ध्यान दिइन् । सन् २०१९ मा रिलिज फिल्म ‘द ताशकंद फाइल्स’मा उनको काम तारिफयोग्य थियो । उनी हालै नेटफ्लिक्समा रिलिज भएको ‘सीरियस मेन’मा पनि देखिएकी छन् । जहाँ अभिनेता नवाजुद्दीन सिद्दीकी प्रमुख भूमिकामा छन् ।
फिल्म ‘रुस्तम’, ‘टोयलेटः एक प्रेम कथा’, ‘पेडमेन’ र ‘परी’ जस्ता फिल्मको निर्माण गरिसकेकी निर्माता प्रेरणा अरोडालाई धोकाखडीको आरोपमा सन् २०१९ मा पक्राउ गरिएको थियो । उनीमाथि फिल्म निर्माता वाशु भगनानीले ३ करोडको धोकाखडीको आरोप लगाएका थिए । यो मामलामा उनले करिब ८ महिना जेलजीवन बिताउनु परेको थियो । प्रेरणा अहिले रिहा भइसकेकी छन् र उनले आफ्नो ध्यान फिल्म निर्माण लगाइसकेकी छन् ।