प्रेममा दासी बन्ने थिरजको चाहना

काठमाडौं । गायक थिरज राईको स्वर रहेको ‘दासी बनेर जिउने’ बोल गीतको भिडियो टीएनएसपीएम मिडियाले शनिबार साँझ युट्युबमार्फत सार्वजनिक गरेको छ । भिडियोमा निर्देशक गोविन्द राईले जोन पुलामी मगर र उर्मिला गुरुङको जोडीलाई भिडियोमा रोमान्स गराएका छन् । यसमा सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको छ । गायक राईले प्रेम र सुन्दरताको विषयवस्तु समेटिएको गजल प्याटर्नको गीत रहेको जानकारी दिए ।

यो गजल आफ्नो उनको तेस्रो गीति एल्बम ‘निमन्त्रणा’मा समेटिएको थियो । उक्त एल्बम केही वर्षअघि नै बजारमा आए पनि यसको भिडियो बल्ल ल्याउन सकेको उनले सुनाए । ‘यसअघि दुईपटक सुटिङ गरे पनि विभिन्न कारणले भिडियो सार्वजनिक गर्न सकिएन’, उनले भने, ‘कोरोना महामारीका बेला भिडियो बनाउनु जुरेको रहेछ । दर्शक÷श्रोताले मेरा अन्य गीतजस्तै दासीलाई पनि माया गरिदिनुहुन्छ भन्ने विश्वास छ ।’

उनले हालै ‘उदासी’ बोल गीतको भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा पनि जोनलगायत कलाकारको अभिनय थियो । निर्देशक राईले स्रष्टाहरूको ट्यालेन्टलाई सही तरिकाले मूल्यांकन गरिदिन दर्शक÷श्रोतासमक्ष आग्रह गरे । यो भिडियोको पोस्ट प्रोडक्सनको काम रेन्बो रेज मिडियाले गरेको छ ।