फ्रेञ्च ओपनमा नाडालको नयाँ इतिहास

पेरिस(एजेन्सी) । स्पेनका टेनिस खेलाडी राफेल नाडालले आइतबारको फ्रेञ्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेञ्च ओपनको फाइनलमा लाल बजरीका बादशाहले विश्वकै नम्बर एक खेलाडी नोवाक जोकोविचलाई सोझो सेटमा ६–०, ६–२ र ७–५ मा हराएका हुन् ।

योसँगै नाडालले १३ औं पटक फ्रेञ्च ओपनको ट्रफी आफ्नो नाममा पारे । यो नाडालको २० औं ग्रेण्ड स्लाम उपाधि हो । योसँगै नाडालले रोजर फेडररसँग बराबरी गरेका छन् । फेडररले पनि अहिलेसम्म २० ग्राण्ड स्लाम जितिसकेका छन् । प्रतियोगिता जितेपछि नाडालले कोर्टमा घुँडा टेकेर मुठ्ठी बनाउँदै खुशीको शैली देखाए । ३३ वर्षका जोकोविच आफ्नो १८ औं ग्राण्ड स्लामका लागि मैदानमा उत्रिएका थिए । जोकोविचले अन्तिम सेटमा निकै संघर्ष गर्नु परेको थियो ।

‘यो प्रष्ट छ कि आज मेरो दिन थियो । यो खेलको हिस्सा हो । हामी हरेक पटक एकअर्कासँग खेलेका छौं । एक दिन एउटाले जित्छ र अर्को दिन अर्कोले’ नाडालले भनेका छन्, ‘यहाँसम्म कि यो जीत मेरा लागि सबैथोक हो । साँचो कुरा भन्नैपर्छ, म रोजर फेडररसँग बराबरी गर्नका लागि कहिल्यै सोचिन् । मेरा लागि यो मेरो ग्राण्ड स्लाम जीत हो । मैले आफ्नो जीवन र करियरको अहम हिस्सा यहाँ बिताएको छु । यहाँ खेल्दा तपाईंलाई ठुलो हौसला बढाउछ । म यो सहरलाई प्रेम गर्छु र यो कोर्टलाई त मैले भुल्नै सकेको छैन ।’

सबैभन्दा बढी ग्राण्ड स्लामको उपाधि जित्ने मामलामा जोकोविच तेस्रो नम्बरमा छन् । हालसम्म उनले १७ उपाधि आफ्नो नाम गरिसकेका छन् । नाडालले फ्रेञ्च ओपनको पहिलो उपाधि १५ वर्ष अघि जितेका थिए र अहिले उनी १३ औं पटक च्याम्पियन बनेका छन् । ओपन युगमा यो कमाल गर्ने उनी पहिलो खेलाडी हुन् । जोकोविचका लागि यो वर्षको दोस्रो हार हो । यसअघि पहिलो यूएस ओपनमा खेलका दौरान एक लाइन जजलाई बलले हिर्काएको कारण उनलाई यूएस ओपनले निस्काशन गरेको थियो ।