नयाँ मिसेस नेपालको खोजी

काठमाडौं । विवाहित महिलाहरुको सौन्दर्य निखार्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ ।  उसले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगीताका लागि आवेदन खुल्ला भएको जनाएको हो । ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगीताको यो वर्ष कोभिड १९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त व्यक्तिमध्ये पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायतबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेरबीचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यता बाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागीता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए

प्रतियोगिताको बिजेता शिर्ष उपाधि, बिभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा, मिना घिमिरेले गरेका थिए । उनीहरु बिभिन्न अन्तराष्ट्रिय उपाधि समेत नेपाल ल्याउन सफल रहेका छन् ।