गायक कुमार सानुलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । भारतका प्रख्यात गायक कुमार सानुलाई कोरोना संक्रमण भएको छ । सन् ९०को दशकका लोकप्रिय यी गायकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।गायक कुमारका मेनेजर जगदीश भारद्वाजका अनुसार कुमार बिहीबार बिहान दुबई हुँदै अमेरिका जाने तयारीमा थिए । तर हवाई यात्राभन्दा अघि अनिवार्य गरिनुपर्ने कोभिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । यहीकारण उनको अमेरिका यात्रा रोकियो । गायक सानुलाई बीएमसीले आफ्नो होम क्वारेन्टाइनमा बस्नका लागि भनेको छ । तर कुमार आफ्नो गोरगाउँस्थित घरमा सबै नियम पालना गर्दा घरकै आइसोलेसनमा बस्ने निर्णय लिएका छन् ।

‘कुमार सानुलाई कोभिड–१९ को कुनै लक्षण छैन । तर पछिल्लो केही दिनमा उनलाई हल्का ज्वरो र कमजोरी महशुस भएको थियो’, जगदीशले भनेका छन् । कुमारकी पत्नी सलोनी र उनका दुई छोरी सना र एना अमेरिकाको लसएन्जल्समा बस्छन् । त्यहीकारण उनी हरेक महिना उनीहरुलाई भेट्न त्यहाँ गइरहन्छन् । तर यसपटक जनवरीपछि कोरोनाको बढ्दो खतरालार्य मध्यनजर गर्दै कुमार पछिल्लो नौ महिनादेखि अमेरिकामा रहेको परिवारलाई भेट्न जान पाएका थिएनन् ।

जसकारण उनी लामो समयपछि अमेरिका जान पाउँदा उत्साहित देखिन्थे । कुमारका छोरा जान कुमार सानु हालका दिनमा कलर्स च्यानलमा आउन लागेको रियालिटी शो ‘बिग बोस’मा एक प्रतियोगीका रुपमा उनी देखिँदैछन् ।

त्यसो त बलिउडमा अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, मलाइका अरोडा, अर्जुन कपूर, तमन्ना भाटिया, जेनिलिया डिसूजा जस्ता कलाकारहरु पनि कोरोनाको चपेटामा परी स्वस्थ भइसकेका छन् ।